close

पाँचखालले लगानी सम्मेलन गर्ने

पाँचखालले लगानी सम्मेलन गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । काभ्रेको  पाँचखाल नगरपालिकाले लगानी सम्मेलन गर्ने भएको छ । 

कोरोना सङ्क्रमणका कारण लगातार सम्मेलन तीन वर्ष अनिश्चित भएको थियो । कोरोना सङ्क्रमणको तेस्रो लहरमा मानवीय क्षति न्यूनीकरण हुँदै नगन्य मात्रामा झरेपछि यसवर्ष लगानी सम्मेलन गर्न सकिने नगरले जनाएको हो ।

तीन वर्षदेखिको लगानी सम्मेलन गर्ने चाहनालाई यो वर्ष मूर्तरुप दिइने नगरप्रमुख महेश खरेलले बताए । 

‘लगानी सम्मेलनको चाहना त्यत्तिकै हुने हो कि भन्ने लागेको थियो, पुनः नगरप्रमुख भएपछि त्यो चाहनालाई दोस्रो कार्यकालको पहिलो वर्षमै पूरा गर्नेतिर लाग्नेछु,’ उनले भने ।

कोरोनोको चरणबद्ध सङ्क्रमणको असर कम हुँदै जान थालेकाले यो वर्ष उपयुक्त हुने देखिएकाले सम्मेलनको तयारीमा लाग्ने खरेलले बताए । आर्थिक वर्ष २०७६/७७ मा कार्यपालिकाले निर्णय गर्दै बजेट विनियोजन गरी तयारीमा जुटेपनि त्यतिबेला कोरोना भाइरस्को सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि लगानी सम्मेलन योजनामै सीमित भएको थियो । 

सम्भावित कोरोनाको तेस्रो लहरका कारण पनि गत आर्थिक वर्षको अन्त्यसम्ममा सम्मेलन गर्ने कार्यतालिका बनाउन नसकेको खरेलले बताए । 

उनका अनुसार सम्मेलनमा लगानीकर्ताबाट १५ अर्बको लक्ष्य लिइएको छ । खरेलले भने, ‘कोरोना तेस्रो लहरले नगन्य मात्रामा असर देखिएकाले अब सम्मेलन गर्न सकिने निचोडमा पुग्यौँ र यो वर्ष गर्ने योजना बनाएका छौँ, यसका लागि लगानीकर्ता निम्त्याउनेबारे अध्ययन सुरु गर्दैछौँ ।’ 

यसअघि स्थानीय तहअन्तर्गत पहिलोपल्ट विसं २०७६ असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गरेको लगानी सम्मेलनमा स्वेदेशीसहित विदेशी लगानीकर्ताबाट १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता दर्शाएका थिए ।

पाँचखाल क्षेत्रको समग्र विकासका लागि चालु आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न अघिल्ला दुवै आवमा प्रारम्भिक बजेट छुट्याइएको खरेलले जानकारी दिए ।

मन्त्रालयले देशका ४४ नगरलाई छनोट गरेकामध्ये पाँचखाललाई प्राप्त पचास करोड बजेटमा ५० प्रतिशत सडक क्षेत्रमा, ३० प्रतिशत आयआर्जन, १५ प्रतिशत सामुदायिक पूर्वाधार तथा पाँच प्रतिशत रकम शासकीय पूर्वाधार निर्माणमा खर्च गर्नुपर्नेछ ।

कोरोना जोखिमका कारण लगानी सम्मेलन गर्न नसकेपछि लगानी भित्र्याउन विकल्पका रुपमा उद्यमशीलताको विकास एवं प्रवद्र्धन गर्न नगरले विभिन्न वित्तीय संस्थासँगको सम्झौतालाई अघि बढाएको थियो ।