close

दशैंको मुखमा उपभोक्ता झुक्याउने गरी मूल्य असमान बनाएको भन्दै मोबाईल व्यवसायीले भने, ‘कम्पनी नसुध्रिए तिनका मोबाईल बेच्दैनौं’

कम्पनीको जवाफ– ‘अनलाईनमार्फत् व्यापार गर्दैनौं’

दशैंको मुखमा उपभोक्ता झुक्याउने गरी मूल्य असमान बनाएको भन्दै मोबाईल व्यवसायीले भने, ‘कम्पनी नसुध्रिए तिनका मोबाईल बेच्दैनौं’

कम्पनीको जवाफ– ‘अनलाईनमार्फत् व्यापार गर्दैनौं’

ADVERTISEMENT

काठमाडौं । मोबाईल व्यवसायीहरुले दशैंको मुखमा बजार अस्थिर बनाउने मोबाईल आयातकर्ता तथा कम्पनीका फोन सेटको विक्री बन्द गर्नसक्ने संकेत गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘आजको आवश्यकता : अफ्लाईन र अनलाईन मूल्यमा एकरुपता’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेपाल मोबाईल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले ‘अफ्लाईन’ बिक्रेता अर्थात् खुद्रा व्यवसायीलाई मार पार्ने नियतका साथ अनलाईन विक्रीकर्तासँग गरिएको साँठगाँठ नतोडे ति कम्पनीका मोबाईल विक्री गर्दै आएका देशभरका २४ हजार भन्दा बढी खुद्रा विक्रेताले ति कम्पनीका मोबाईल बहिष्कार गर्ने चेतावनी दिए । 

विभिन्न अफर भन्दै ‘दराज’ लगायतले बजारभन्दा निकै सस्तोमा अनलाईनबाट मोबाईल विक्री भइरहेकोले अफ्लाईन व्यवसायीहरु मर्कामा परेका हुन् । अफ्लाईन व्यापारमार्फत् ९८ प्रतिशत मोबाईल बिक्री भइरहेको भन्दै अध्यक्ष भट्टराईले बाँकी २ प्रतिशत व्यापारका लागि बजार अस्तव्यस्त बनाउने कम्पनीले समयमै सचेत नभए ठूलो दुर्घटना व्यहोर्न तयार रहन पनि चुनौति दिए । 

‘दशैंको मुखमा छौं, भोलिबाट पनि यसैगरी अनलाईनमा मनपरी मूल्य राखेर मोबाईल बेचिने हो भने हामी ति कम्पनीका मोबाईल एक बेच्दैनौं, दुई बेच्दैनौं, तीन बेच्दैनौं, बेच्दैबेच्दैनौं’ अध्यक्ष भट्टराईले भने । 

अनलाईनमार्फत् मोबाईल बेच्नै नहुने भन्ने आफुहरुको धारणा नरहेको भन्दै महासंघका अध्यक्ष भट्टराईले मूल्यमा समानता हुनुपर्ने बताए । उनले एउटै सामानको मूल्य फरक पर्दा एकातिर उपभोक्ता झुक्किने र अर्काेतिर व्यवसायीहरु पनि उपभोक्ताका नजरमा गलत देखिने भएकाले व्यवसायीको प्रतिष्ठामै आँच आउने यस्तो प्रवृत्ति सच्याउन सचेत गराए । 

कोरोनापछि व्यवसायीहरु झन् आरालो लागेको बेलामा बजार अस्थिर बनाएकोप्रति व्यवसायीहरुले दुःख व्यक्त गरे । अध्यक्ष भट्टराईले भने, ‘व्यवसायी बाँचे मात्रै डिष्ट्रिब्यूटर र कम्पनी बाँच्ने हो त्यसैले अब खुद्रा व्यवसायीको मार्जिन कम्तिमा १० प्रतिशत पुर्याउनुपर्छ, अहिलेको पाराले व्यावसाय गर्दा नाफा त परको कुरा घरखेत नै सिद्धिने अवस्था आउनसक्छ ।’ 

अनलाईनबाट व्यवसाय गर्दैनौं : कम्पनी


विभिन्न मोबाईल कम्पनीका वितरकहरुले ९८ प्रतिशतको बजार छोडेर अनलाईनमार्फत् व्यापार नगर्ने प्रतिबद्धता जनाएका छन् । सामसुङ कम्पनीका मोबाईल वितरकको जिम्मा पाएको आईएमएस्का कैलाश ऐयरले बजार अस्थिर बनाउने आफुहरुको नियत नभएको प्रष्ट्याउँदै त्यस्तो गरेको प्रमाणसहित आए तुरुन्तै ‘एक्सन’मा जाने बताए । कैलाशले भने, ‘दराजले धेरै अफर गरिरहेको हुन्छ, थुप्रै ईमेल पठाएको हुन्छ, हामी पनि बजार यस्तो बिग्रिएला भन्ने सोचेको थिएनौं, व्यवसायीहरुलाई निकै ठूलो असर परेको महसुस गरेको छु, आजदेखि मेरो प्रतिबद्धता भयो कि हामी अनलाईनबाट व्यापार गर्दैनौं, मूल्यमा समानता ल्याउँछौं ।’

एम्आई मोबाईल वितरक साओमीको प्रतिनिधित्व गर्दै प्रकाश सुवेदीले अफ्लाईन बजार नै आफुहरुको महत्वपूर्ण बजार भएकाले अनलाईनमा जाँदै नजाने दोहोर्याए । त्यस्तै, अब्बे ग्रुपका सन्तोष भण्डारीले कुन कम्पनी बजारमा १ नं. हुने भन्ने होडले जन्मिएको सानो लोभका कारण यस्तो परिस्थिती सिर्जना भएको भन्दै अब यसबारे गम्भिर हुनुपर्ने विचार राखे । 

मोबाईल डिष्ट्रिब्यूटर एशोसिएसनका महासचिव रघु त्रिपाठी र सदस्य राम श्रेष्ठले मोबाईल व्यवसायीलाई छलफल भन्दा अब एक्सनमै जान सुझाव दिए । उनीहरुले बजार बिगार्नेका विरुद्ध सबै व्यवसायी एकजुट भएर लाग्नुको विकल्प नभएको बताए । 

नेपाल मोबाईल व्यवसायी महासंघका सचिव डिल्लिबहादुर तामाङ, कोषाध्यक्ष सन्तोष घिमिरे लगायतले देशभरका व्यवसायीको आक्रोशपूर्ण आवाजलाई आफुहरुले आग्रहपूर्ण रुपमा नरमसँग राखेकाले यसलाई गम्भिर रुपमा लिन कम्पनीहरुलाई आग्रह गरे । कार्यक्रममा उपस्थित व्यवसायीहरुले मूल्य असमान हुँदाको दुष्परिणामबारे जानकारी गराएका थिए । 

अनलाईन र अफ्लाईन व्यवसायीले विक्री गर्ने मोबाईलको मूल्य असमान हुनुका कारण, व्यवासयिक व्यवहार र अनलाईन बिक्रेताले गरेका बद्मासीका प्रमाण लगायतका बारेमा कार्यक्रममा गम्भिर बहस भएको थियो ।