close

अब धनगढी उपमहानगरले चेकबाट कारोबार नगर्ने

अब धनगढी उपमहानगरले चेकबाट कारोबार नगर्ने

Trulli
ADVERTISEMENT

धनगढी । धनगढी उपमहानगरपालिकाले अब चेकबाट कारोबार नगर्ने भएको छ ।

उपमहानगरको कार्यालयबाट हुने भुक्तानी, राजस्व दाखिलालगायत काम अब अनलाइनबाटै हुने व्यवस्था गरिएको छ । योसँगै उपमहानगरभित्र हुने विकास निर्माण, सार्वजनिक खरिद प्रक्रिया र उपभोक्ता समितिमार्फत् हुने कामलगायतको भुक्तानी सहज हुनेछ ।

साथै, अब आर्थिक वर्ष सकिने बेला दिएका चेक दुई महिनासम्म नसाटिने अवस्था हुने छैन । काम सम्पन्न भएको प्रतिवेदनका आधारमा भुक्तानी आदेश दिएलगत्तै सम्बन्धितको खातामा पैसा पुग्ने उपमहानगरले जनाएको छ । भुक्तानी माग गर्नेको खातामा सरकारी पैसा पठाइने व्यवस्था उपममहानगरले गरेको हो । 

चालू आर्थिक वर्षदेखि चेकबाट हुने कारोबार बन्द गरेर विद्युतीय भुक्तानीको व्यवस्था गरिएको उपमहानगरपालिकाकी आर्थिक प्रशासन शाखा प्रमुख सरस्वती जोशीले बताइन् ।

‘महालेखा परीक्षकको कार्यालयले अनिवार्य विद्युतीय भुक्तानीको व्यवस्था गर्नु भन्ने आदेशअनुसार उपमहानगरले अनलाइन भुक्तानीको व्यवस्था गरेको हो । कार्यालयले अब चेक काटेर थन्क्याउनुपर्ने अवस्था हुँदैन । काम सम्पन्न भएको प्रतिवेदनको आधारमा सिधै सम्बन्धितको खातामै रकम पठाउने व्यवस्था मिलाइएको छ,’ उनले भनिन् ।

विद्युतीय भुक्तानी हुने भएपछि निर्माण व्यवसायी तथा उपभोक्ताले चेकका लागि उपमहानगर धाउनुपर्ने छैन । सम्पूर्ण आर्थिक कारोबारका लागि विद्युतीय भुक्तानीको व्यवस्था गरिएको उपमहानगरको दाबी छ ।

प्रविधिको माध्यमबाट सेवाग्राहीलाई सेवा प्रदान गर्ने परिपाटीले काममा पारदर्शिता मात्रै नभएर छरितो हुने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए । ‘यो प्रविधिले वित्तीय सुशासन मात्रै नभएर सेवाग्राहीले बेहोर्ने झन्झट पनि अन्त्य हुनेछ,’ उनले भने ।