close

बैतडीका स्थानीय तह: बजेटमा कृषि र सडकलाई प्राथमिकता

बैतडीका स्थानीय तह: बजेटमा कृषि र सडकलाई प्राथमिकता

Trulli
ADVERTISEMENT

बैतडी । कृषि, स्वास्थ्य, सडक र शिक्षालाई प्राथमिकता दिँदै बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।  

नगरसभा तथा गाउँसभाबाट यहाँका नौ स्थानीय तहहरुको रु चार अर्ब ७३ करोड एक लाख बराबरको बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सडकलाई मुख्य प्राथमिकतामा राखेका छन् । 

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८२ करोड १७ लाख बराबरको बजेट ल्याएको छ । उपप्रमुख कौशिला चन्दले शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेको बताए । नगरको ढल निकास र स्वच्छ, सफा नगरपालिका सामाजिक विकास, सुशासनलगायतका क्षेत्रलाई बजेटमा समेटिएको छ ।  

नगरपालिकाले पुँजीगततर्फ रु ११ करोड विनियोजन गरेको छ भने चालु खर्चतर्फ रु १३ करोड ४० लाख विनियोजन गरेको छ । यस्तै आर्थिक विकासतर्फ रु ७५ लाख विनियोजन गरेको नगरपालिकाले सामाजिक विकासतर्फ रु चार करोड ६० लाख र पूर्वाधार विकासतर्फ रु एक करोड ६६ लाख विनियोजन गरेको छ । नगरपालिकाले वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ५० लाख विनियोजन गरेको छ ।

पुर्चौडी नगरपालिकाले रु ६४ करोड ५४ लाखको बजेट ल्याएको  छ ।  पूर्वाधार, कृषि, शिक्षा र  स्वास्थ्यलाई  प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ । उपप्रमुख मीना धानुकले सामाजिक विकास, पूर्वाधार, कृषि, शिक्षा स्वास्थ्यलाई र सुशासनलाई प्राथमकितामा राखेको बताए। 

पुर्चौडीमा  सामाजिक विकासतर्फ रु आठ करोड ५० लाख, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ५० लाख, सुशासन तथा संस्थागत विकासतर्फ रु नौ करोड, पूर्वाधार विकासतर्फ रु सात करोड र आर्थिक विकासतर्फ एक करोड विनियोजन गरिएको छ ।  

यस्तै पाटन नगरपालिकाले रु ६३ करोड ५३ लाख  बराबरको बजेट ल्याएको छ । बजेटमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेको नगर प्रमुख गौरिसिंह रावलले बताए । 

दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले प्रस्तुत गर्नुभएको रु ५१ करोड ४४ लाखको बजेटमा स्वास्थ्य, कृषि र सुशासनलाई प्राथमिकतामा राखिएको छ । उनले भने, 'कृषि क्षेत्रलाई उत्पादनको प्रमुख क्षेत्रको रुपमा विकास गर्दै ‘अध्यक्ष नमुना कृषि गाउँ’ कार्यक्रम, ‘एक टोल एक उत्पादन’मा जोड दिएर उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने र उत्कृष्ट कृषकलाई पुरुस्कार दिने, शीतभण्डार निर्माण, कृषि बिउबिजन तथा मल केन्द्र स्थापना गरिनेछ ।'

यसैगरी मेलौली नगरपालिकाले रु ४९ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिकाले रु ४२ करोड आठ लाखको बजेट ल्याएको छ । सिगास गाउँपालिकाले केही नयाँ कार्यक्रमसहित पुराना कार्यक्रमलाई निरन्तरता दिएर रु ४३ करोड ८२ लाखको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ रु ३३ करोड ८९ लाख र पुँजीगततर्फ रु नौ करोड ९३ लाख बजेट विनियोजन गरिएको अध्यक्ष हरिसिंह धामीले बताए । उनले भने, 'कृषि र सडकलाई मुख्य प्राथमिकता दिएर बजेट ल्याएका छौँ ।'

पञ्चेश्वर गाउँपालिकाले रु ३८ करोड ७४ लाखको बजेट ल्याएको छ । कृषि, स्वास्थ्य र बिजुलीलाई  प्राथमिकतामा राख्दै बजेट गाउँसभामा पेश गरेको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिए । शिवनाथ गाउँपालिकाले रु ३६ करोड ३४ लाखको बजेट ल्याएको छ । बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

बैतडीमा चार नगरपालिका र छ गाउँपालिका छन् । डिलाशैनी गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा पेश गरेको छ भने बजेट ल्याउन बाँकी छ । यही असार १५ गते बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए ।