close

“कृषक त मरेजस्तै भयो, क्षति कसले व्यहोर्ने ?”

“कृषक त मरेजस्तै भयो, क्षति कसले व्यहोर्ने ?”

Trulli
ADVERTISEMENT

उदयपुर उदयपुरको कटारी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको थियो । नगरपालिकाले धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको थियो ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएपछि कृषक हर्षित भएका किसान धान नफलेपछि निरास भएका छन् । “केही धान पसाइसक्यो, केही पसाउने तयारीमा छन्, कोही त पसाउला जस्तो नि लाग्दैन”, किसान मोहन दनुवारले भने, “छिमले भयो पहिलाको पाकेर झर्दा अरु पसाउला जस्तो छ ।” गत वर्ष नगरपालिकाले दिएको धानको बीउले राम्रो उत्पादन दिएपछि यसपटक २५ कट्ठामा रामधान जातको बीउ लगाएको उनले बताए । 

कटारी–३ ताराघारीका अमित श्रेष्ठले पनि गत वर्ष रामधान जातको बीउ नगरपालिकाबाट ल्याएर दुई कट्ठामा परीक्षणका रुपमा लगाएका थिए । “त्यतिबेला प्रशस्त फल्यो हौसिएर यस वर्ष १५ कट्ठामा अनुदानमा बीउ लगाए”, उनले भने, “यस वर्ष त धान त फल्नेभन्दा पनि कोही फल्ने कोही फल्दै नफल्ने बिरुवा मात्रै बढ्ने भयो ।” पचास प्रतिशत अनुदानमा प्रतिकिलो ३३ रुपैयाँका दरले बीउ लिएका कृषक अहिले धानको अवस्था देखेर चिन्तामा डुबेका छन् । “यस्तो लापर्वाही पनि कृषकसँग गर्नुहुन्छ?”, कृषक दनुवारले भने, “कृषक त मरेजस्तै भयो । यस वर्ष यसको क्षति कसले व्यहोर्ने ?”

कृषक श्रेष्ठले किसानलाई आर्थिक भार पर्ने भएकाले राहत पाउनुपर्नेमा जोड दिए । “वर्षभरि खानुपर्ने धान नफलेपछि हामीलाई क्षतिपूर्ति दिनुपर्छ”, उनले भने । धान फल्ने बेला उत्पादन नदिएपछि क्षतिपूर्ति पाउनुपर्ने किसानले बताएका छन् ।

नगरपालिकाका कृषि शाखका प्राविधिक तथा बीउबिजन उत्पादन, आपूर्ति तथा व्यवस्थापनका प्रमुख रविन्द्र राईले कृषकलाई दिइएको धान नपसाएपछि आपूर्तिकर्तालाई अनुगमन तथा निरीक्षण लागि बोलाएको बताए । 

राईका अनुसार नगरपालिकाले सर्लाहीको श्रीकृष्ण कन्हैया उपभोक्ता सहकारी संस्थाबाट तीन हजार ३५० किलो बीउ खरिद गरी किसानलाई वितरण गरेको थियो ।