close

अचारको व्राण्डिङ गरी बजारीकरणमा गाउँपालिकाको सहयोग

अचारको व्राण्डिङ गरी बजारीकरणमा गाउँपालिकाको सहयोग

Trulli
ADVERTISEMENT

गुल्मी- सत्यवती गाउँपालिकाले अचारको व्राण्डिङ गर्ने भएको छ । गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने फलफूल तथा कृषि सामग्रीबाट अचार बनाएर व्राण्डिङ गर्न लागेको हो । 

गाउँपालिकाको कृषि शाखाका अधिकृत उपकार भण्डारीका अनुसार गाउँपालिकाभित्र आँप, मुला, टुसालगायतको अचार बनाउने गर्दछ । अचारको व्राण्डिङसँगै बजारीकरणका लागि पनि गाउँपालिकाले सहयोग गर्ने उनले पालिकाखबरलाई बताए । 

उनका अनुसार गाउँपालिकाले कृषिको बजारीकरणका लागि सटर निर्माण गरी भाडामा सञ्चालन गर्न दिएको छ । सोही सटरबाट स्थानीय बासिन्दाले सहकारीमार्फत कृषिजन्य सामग्री बेच्न सक्ने उनको भनाइ छ । गाउँपालिकाले कृषि सिकाइ केन्द्र सीपसहितको कार्यक्रम सञ्चालन गर्ने उनले बताए । 

कृषिलाई आधुनिक तरिकाले लैजानको लागि नयाँ कार्यक्रम निर्माण गरेको उनको दाबी छ । उनका अनुसार व्यावसायिक योजनासहितको खेती कृषि र पशु पालनसम्बन्धी तालिम, माटो परीक्षण गरी बाली लगाइने, मकै र तोरीको बीउ उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिका दूध, मासु र अण्डामा आत्मनिर्भर भएकाले थप उत्पादनका लागि जोड दिइने उनले सुनाए । 

उनका अनुसार गाउँपालिकाले कृषिको लागि चालु आर्थिक वर्षमा ९५ लाख रुपैयाँ र समपुरकका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसैगरी  पशुपालनका लागि ५५ लाख रुपैयाँ बजेट विनियोजन भएको उनले सुनाए ।