close

आँबुखैरेनी-२ भरी ‘नौनी फल’को व्यावसायिक खेती

आँबुखैरेनी-२ भरी ‘नौनी फल’को व्यावसायिक खेती

Trulli
ADVERTISEMENT

तनहुँ- आँबुखैरेनी गाउँपालिकामा ‘नौनी फल’ भनेर चिनिने एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ । 

‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ मा एभोकाडोका एक हजार ८४० बिरुवा लगाइएको हो । कृषकलाई ७५ प्रतिशत अनुदानमा एक हजार ८४० वटा एभोकाडोको बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा बताउछन् । 

उक्त बिरुवा रोपेको तीन वर्षदेखि उत्पादन दिन सुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि कृषकलाई यसतर्फ आकर्षित गराइएको हो । फलफूल क्षेत्र विकास कार्यक्रमअन्तर्गत तनहुँमा पनि एभोकाडो खेतीलाई समावेश गरी प्राथमिकतामा राखिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । 

कार्यालयका अनुसार गत वर्षदेखि यसको बिरुवा उत्पादन गरेर खेती सुरुवात गरिएको हो । समुद्री सतहदेखि २०० मिटरदेखि एक हजार ६०० मिटर उचाइमा खेती गर्न सकिने छ । उक्त खेतीका लागि  सुहाउँदो हावापानी तनहुँमा छ । 

गत वर्ष केन्द्र आफैँले दुई हजार बिरुवा उत्पादन गर्नाका साथै बाहिरबाट थप दुई हजार बिरुवा ल्याएर चार हजार बिरुवा कृषकहरूलाई वितरण गरेको केन्द्रका सूचना अधिकारी किरण परियार जानकारी दिन्छन् । यो खेती तराईदेखि पहाडसम्म गर्न सकिन्छ कागती तथा केरा हुने स्थानमा यसको खेती राम्रो हुन्छ ।

बाँझो जमिन सदुपयोग गर्न एभोकाडोको खेती गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमान बताउछन् । स्थानीय वडावासीलाई उत्पादनसँग जोड्न र आयमूलक बनाउन गाउँपालिकाले एक वडा, एक उत्पादन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उनको भनाइ छ ।  

एभोकाडोमा प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने र उच्च रक्तचाप, मधुमेह, मुटु रोगका बिरामीका लागि अति नै लाभदायक फलको रुपमा लिइन्छ । 

उक्त फल बजारमा थोक प्रतिकिलो २०० रुपैयाँ र खुद्रा प्रतिकिलो ३५० देखि ४०० रुपैयाँसम्ममा बिक्री हुने गरेको व्यापारीहरु बताउँछन् ।