close

देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग

देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको देवघाट गाउँपालिका–१, २, ३ र ४ मा उत्पादित सुन्तलाको प्रभाव काठमाडौँ महानगरपालिकासम्म परेको छ । 

आइतबार ‘देवघाटको करोडको सुन्तला बजार पुर्‍याउन गाह्रो’ शीर्षकमा समाचार प्रकाशित भएपछि कामपाले देवघाटका किसानलाई बजार र अनुदानको व्यवस्था गर्ने विषयमा छलफल सुरु गरेको हो ।

काठमाडौँलाई मुख्य बजार बनाएर देवघाटमा उत्पादित सुन्तला बिक्री वितरणका लागि बजार व्यवस्थापन, किसानले सिधै अनुदान पाउने व्यवस्थालगायत विषय महानगरको बैठकमा छलफल गरिने कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए । उनले भने, “देवघाटबाट सुन्तला आयात गर्दा विचौलियाले खाने कमिसन रोक्नुपर्छ । यसका लागि नगरप्रमुखसँग छलफलमा छौँ । बोर्ड बैठकबाट निर्णय गराएर प्रक्रियामा जाने गरी अगाडि बढेका छौँ ।”
    
अधिकारीले भृकुटीमण्डपमा बजारको व्यवस्था गर्ने विषयमा छलफल गरिने जानकारी दिए ।  विचौलियाबिना किसानका सुन्तला काठमाडौँ आउनुपर्ने उनको भनाइ थियो । “देवघाटमा उत्पादित सुन्तलामा प्रतिकेजी पाँच गाउँपालिकामार्फत किसानलाई अनुदान उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढाउन छलफलमा जुट्ने तयारी गरिरहेका छौँ”, अधिकारीले भने । प्राङ्गारिक सुन्तला काठमाडौँवासीले उपभोग गर्न पाउने वातावरण बन्ने अपेक्षा गरिएको उनले बताए । 

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवं सुन्तला कृषक भीमबहादुर रानाले किसानलाई सहयोग पुग्ने गरी महानगरले गरेको सूचना पाउँदा खुसी लागेको बताए । उनका अनुसार समाचारले यहाँका किसानलाई हौसला दिनुका साथै बजारीकरणमा सहयोग पुग्ने विषयले हर्षित बनाएको छ । 
    
अहिले सुन्तला पुर्‍याउन नाल्दी र गाईघाटमा पुल नहुँदा यहाँका किसानले कोटा, बैदी हुँदै साराङघाटको मोटरेवल पुलको बाटो प्रयोग गरी दमौली हुँदै काठमाडौँ पठाउने गरेका किसान बताउँछन् । 
    
सिधा सडक सञ्जाल विस्तार नभएकाले यसरी घुमाउरो बाटो प्रयोग गर्दा किसानले दोब्बर भाडा तिर्नु परेको किसान नवराजले बताए । यहाँ उत्पादित सुन्तलाका साथै अदुवा, केरा तथा अन्य फलफूल तुइनबाट नै राजमार्गसम्म लगेर बजारसम्म पुर्‍याउने गरिएको नवराजले सुनाए । साथै बाख्रा, कुखुरा तथा अन्य पशुपक्षीको लागि दाना चोकर पनि तुइनबाटै ल्याउने गरिएको उनले जानकारी दिए । 

उत्पादित सुन्तलालगायत खाद्यान्न ल्याउन तथा लैजान मुख्य ढुवानीको माध्यम भनेको घुमाउरो बाटो र तुइन मात्रै भएको किसान बताउँछन् । ढुवानी समस्याकै कारण करोडौँको सुन्तला बजारसम्म पुर्‍याउन सास्ती हुने गरेको सुन्तला कृषक रानाले बताए । 

देवघाटका वडा नं १, २, ३ र ४ का विभिन्न भाग सुन्तला उत्पादनको पकेट क्षेत्र हुन् ।