close

जब इतिहासमै पहिलोपटक आँगनमा पानी खस्यो...

जब इतिहासमै पहिलोपटक आँगनमा पानी खस्यो...

Trulli
ADVERTISEMENT

मुगु- जिल्लाको छायानाथ रारा नगरपालिका–२ चैनागाउँका घरघरमा पानीका धारा जडान भएका छन् । पुस्तौंदेखि गाउँबाट १५ मिनेट टाढाको ढुंगेधाराको पानी खाँदै आएका चैनगाउँका स्थानीयका घरघरमा खानेपानीका धारा जडान गरिएको हो ।

चैनगाउँमा ४५ घरधुरी छन् । पुस्तौंदेखि उनीहरुले घरधुरी गाउँदेखि १५ मिनेट टाढाको चैनाखोलामा रहेको ढुंगेधाराको खानेपानी प्रयोग गर्दै आएका थिए ।  खानेपानी अभाव भएपछि छायानाथ रारा नगरपालिका र युनिसेफको आर्थिक सहयोगमा हिमाली ग्रामीण युवा समाज विकास  केन्द्र (हिसिडेक) मुगुले धारा जडान गरेको हो । 

नगरपालिकाले साढे ११ लाख खर्चेर वडा नम्बर ५ मुन्दुमा रहेको इन्टेकबाट आरसिसी ट्यांकीसम्मको पाइप लाइन निर्माण गरेको थियो ।  युनिसेफको आर्थिक सहयोगमा हिरिसडेक मुगुले १२ हजार क्षमताको आरसिसी ट्यांकीसहित ४५ घरधुरीका अतिरिक्त २ वटा सार्वजिनक र १ संस्थागत गरी ४८ खानेपानीको धारा निर्माण गरेर बिहीबार समुदायलाई हस्तान्तरण गरेको हो । 

गाउँमा खानेपानीको पहुँच पुगेपछि स्थानीयले उपभोग गर्न थालेको चैनगाउँमा ‘एक घर एक धारा’ निर्माण  उपभोक्ता समिति अध्यक्ष मानप्रसाद चौलागाईंले जानकारी दिए ।

उनले भने, ‘चैन खोलामा रहेको ढुंगेधाराबाट स्थानीयसँगै स्थानीय प्रहरी, विद्यालयका शिक्षक तथा विद्यार्थीसमेतले पानी प्रयोग गर्दै आएका थिए । गाउँमै धारा जडान भएपछि अब ढुंगेधारा जानुपर्ने बाध्यता हटेको छ ।’ 

अब घरघरमै धारा जडान भएपछि ढुंगेधारासम्म पानी लिन जानुपर्ने वाध्यता हटेको छायानाथ रारा नगरपालिका–२ की बिजया हमालले बताइन् । घरघरमा धारा निर्माण भएपछि गृहिणी महिलालाई झनै सुविधा भएको उनको अनुभव छ । 

स्थानीयले पुस्तौंदेखि उपभोग गर्दै आएको चैन खोलामा रहेको ढुंगेधाराको खानेपानी परीक्षण गर्दा दिसामा देखिने इकोली नामक ४ वटा जीवाणु भेटिएका थिए । अहिले ३ किलोमिटर टाढाबाट ल्याएको मुहानको खानेपानी परीक्षण गर्दा भने कुनै जिवाणु नभेटिएको अध्यक्ष चौलागाईंले बताए ।

प्रत्येक घरमा सुरक्षित खानेपानीका धारा निर्माण भएपछि चैनगाउँलाई जिल्लामै पहिलो पटक सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्ने तयारी भइरहेकोे हिरिसडेक मुगुका कार्यकारी निर्देशक मीनबहादुर रावल बताउँछन् ।