दोलखा - दोलखाको भीमेश्वर नगरपालिकाले खुला चिडियाखाना निर्माण अगाडि बढाएको छ । नगरले १८ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन तयार गर्दै खुला चिडियाखाना निर्माणको काम अगाडि बढाएको हो ।
खुला चिडियाखाना निमार्णका लागि प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम बाग्मती प्रदेशमार्फत ५० लाख रकम आएकामा यसबाट उपभोक्ता समितिमार्फत सडक मार्गको स्तरोन्नति, सोली, कल्भर्टलगायतको काम सम्पन्न गरेको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताए ।
भीमेश्वर नगरपालिका र खोरर्थली सामुदायिक उपभोक्ता समूहको सहकार्यमा पुनर्भरण पोखरीसमेत निर्माण भएको छ । अन्य पूर्वधारका लागि आव ०७७/७८ मा नगरपालिकाले आप्mनो आन्तरिक बजेटबाट २० लाख विनियोजन गरेको छ ।
वनजन्य र वनस्पति दुवैको प्रजनन, विकास एवं संरक्षण गर्ने उपयुक्त वातावरण तयार गर्न खुला चिडियाखाना निर्माणको अवधारण अघि बढाइएको भीमेश्वरका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिए ।
‘नगरपालिका कार्यालयसँग जोडिएको सामुदायिक वन र धेरै संख्याका मृग, घोरल, कालिजलगायतका जीवजन्तु पाइने हुँदा यसलाई प्रत्यक्ष रुपमा अवलोकन गर्न र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन दोलखाको खुला चिडियाखाना निर्माणको अवधारणा बनेको हो’, खड्काले भने ।
संघीय, प्रदेश र स्थानीय सरकारले विशेष प्राथमिकतामा राखेको आयोजना भएकाले अहिलेकै नेतृत्वको कार्यकालमा सम्पन्न गर्ने योजना रहेको भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले बताइन् ।
‘१ सय ७८ रोपनी जग्गामा फैलिएको खोरथली सामुदायिक वनको ५ हेक्टरमा पूर्वाधार निर्माण गरिनेछ । सदरमुकाम चरीकोटमा रहेको खुला चिडियाखाले जिल्लाको पर्यटन विकास कोसेढुंगा सावित हुनेछ,’ बस्नेतले भनिन् ।