close

हिमाल कन्स्ट्रक्सनको डोजर स्थानीयको कब्जामा

हिमाल कन्स्ट्रक्सनको डोजर स्थानीयको कब्जामा

Trulli
ADVERTISEMENT

दैलेख– जिल्लाको दुल्लु नगरपालिकाका व्यापारी तथा स्थानीयले विभिन्न काममा निर्माण कम्पनीलाई उपलब्ध गराएको नगद र जिन्सी सामानबापतको ४० लाख नपाएको भन्दै डोजर कब्जा गरेका छन् ।

३ वर्षदेखि हिमाल कन्स्ट्रक्सनले दुल्लुका विभिन्न स्थानमा काम गर्दा व्यापारीबाट ४० लाख रकम लिए पनि माग गर्दा नदिएपछि कब्जा गर्नु परेको व्यापारीहरु बताउँछन् ।

काम सकेर सबै हरहिसाब राफसाफ गर्ने भने पनि रातारात डोजर अन्तै लैजान थालेपछि बाध्य भएर कब्जा गर्नु परेको स्थानीय व्यापारीको दाबी छ  । व्यापारीहरुले डोजरका मेसिन झिकेर लैजान लागेको जानकारी इलाका प्रहरी हुँदै इलाका प्रशासन कार्यालयमा समेत दिइएको बताए ।

सवारीधनी खगेन्द्र शाहीले तिर्नुपर्ने रकमको कागजात गरे मात्र डोजर चलाउन दिने अडानमा स्थानीय छन् । व्यापारीलाई साथ दिएका सर्वसाधारणले डोजर कब्जा गरेपछि चालकले नियतवश ब्याट्री पड्काएको आरोप स्थानीय काशीराम खड्काले लगाए ।

घटनाले उग्र रुप लिएपछि दुल्लु प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । स्थानीय प्रशासन, पीडित व्यक्तिहरु र सवारीधनीसँग समन्वय गरेर सहजीकरण हुन नसके दुवै पक्ष आ–आफ्नो अडानमा अदालती प्रक्रिया वा अन्य प्रक्रियामा जान सक्ने दुल्लु प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखमा समेत स्थानीयले यो विषयमा जानकारी गराएका छन् । विवाद बढ्दै जाँदा डोजर चालक एकातिर एवं स्थानीय व्यापारी र नागरिक अर्कोतिर भएपछि प्रशासनले दुवै समूहबीच हुन सक्ने मुठभेड रोक्न प्रहरी परिचालन गरिएको जनाएको छ ।

डोजर कब्जा गरेका स्थानीय, डोजरधनी र प्रहरी प्रशासनबीच विवाद मिलाउन दुल्लु नगरमा छलफल गर्ने तयारी भएको छ । ‘४० लाख रकम लिन बाँकी रहेकाहरुले डोजर मालिकले स्थानीयको माग सम्बोधन गर्नुको साटो उल्टै प्रशासनसँग मिलेर प्रहरी बोलाएपछि विवाद झनै बढेको हो’, स्थानीय काशीराम खड्का भन्छन् ।