कोरोना संक्रमणका बेला झापाका स्थानीय तहहरूले फोहोर व्यवस्थापन गर्न नसक्दा रोग फैलिने त्रास बढेको छ । झापाका १५ वटै स्थानीय तहको साझा समस्या पालिकाबाट निस्किने फोहोर व्यवस्थापन नहुँदा रोग फैलिन त्रास बढेको हो । धेरैजसो स्थानीय तहले खोला, जंगल, पूर्व–पश्चिम राजमार्ग छेउछाउका नालाहरूमा फोहोर खनेर पुर्दै आएका छन् ।
बिर्तामोड नगरपालिकाले नगरको केही फोहोर देउनिया खोलाले कटान गरेका स्थान वडा–७ र ८ मा लगेर थुपार्ने गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको बसपार्क जाने बाटो र बुट्टाबारी आसपास क्षेत्रमा फोहोर व्यवस्थापन गरिरहेको छ । बाटोको एकातिर चिया बगान छ भने अर्कोतिर वनजंगल । दुवै साइटमा डोजरले खनेर नगरको सड्ने र नसड्ने दुवै प्रकृतिका फोहोरहरू गाडिँदै आएको छ ।
‘फोहोर व्यवस्थापनका लागि नगरमा अर्को कुनै स्थान छैन ।जनताले फोहोर थुपार्ने भनेपछि जग्गा दिँदैनन्’, बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा भन्छिन्, ‘हामीले ३ बिघा जति जग्गा किन्न खोजेका थियौँ तर स्थानीयको विरोध आएपछि त्यो पनि स्थगित भयो ।’
पूर्व–पश्चिमराजमार्गमा पैदल यात्रा गर्नेहरूनाक छोपेर हिँड्न बाध्य छन् । गाडीमा हिँड्नेहरूलाई बुट्टाबारी क्षेत्र पुगेपछि फोहोरको गन्धले सताउने गर्छ । बुट्टाबारी बसपार्क छेउछाउका होटल बस्तीमा यतिबेला एकैछिन उभिन पनि मुस्किल छ । ‘नगरपालिकाको ठूलो गाडी आउँदैन । साना अटो सफारीमा ल्याउँदै फाल्छन्,’ स्थानीय होटल सञ्चालक हेमन्ती अधिकारीभन्छिन्, ‘मान्छे हिँड्ने ठाउँमा ल्याएर फोहोर थुपारेको छ । खाल्डो खनेर माथिबाट पुरेको छ । दिउँसो हावा चल्दा गनाएर होटलमा बसिनसक्नु हुन्छ । खाजा, चिया खाने मान्छे नै आउँदैनन् ।’
यस्तै, अर्जुनधारा नगरपालिकाले बिरिङ खोला, दमक नगरपालिकाले रतुवा खोला, गौरीगन्जगाउँपालिकाले रतुवा खोला, कचनकवल गाउँपालिकाले मेची खोलाछेउ, कमल गाउँपालिकाले राजमार्ग उत्तरमा रहेको चाजुँखोला छेउमा फोहोर फाल्दै आएका छन् ।
मेचीनगर नगरपालिकाले मेचीखोलाछेउ, भद्रपुर नगरपालिकाले मेची खोला आसपासका क्षेत्रमा नगरबाट निस्किने फोहोर विस्थापन गर्दै आएका छन् ।
भद्रपुर नगरपालिकाले ०६५ मा तत्कालीन चन्द्रगढी ७ नम्बर वडाको घोडामारामा ६ बिघा ९ कट्ठा १० धुर जग्गा ल्यान्डफिल साइट बनाउनका लागि लिने प्रक्रिया अघि बढाएको थियो । स्थानीय विकास मन्त्रालयको २६ लाख सहयोगमा ल्यान्डफिल निर्माण पहल सुरु भएको थियो । तर, जग्गा खरिदमै भ्रष्टाचार भएको आरोप आएपछि उक्त स्थान ल्यान्डफिल साइटका लागि अनुपयुक्त ठहर गरिएको थियो ।
भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठका अनुसार ल्यान्डफिल साइट निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । चालू आर्थिक वर्षमा बजेट विनियोजन भइसकेकाले अब निर्माण प्रक्रिया नरोकिने बताउँछिन् ।
शिव सताक्षीले राजमार्ग उत्तरको रतुवामाई वृक्षारोपण आयोजनाको जंगल क्षेत्रमा फोहोर थुपार्दै आएको छ । गौरादहले वडा–१ मा रहेको पोखरी नजिकै फोहोर गाड्ने गरेको छ ।कन्काईले धनुषकोटि क्षेत्रको जंगलमा फोहोर गाड्दै आएको छ ।
झापाका तीनवटा नगरपालिकाले नगरक्षेत्रबाट निस्कने फोहोरबाट मिथेन ग्यास उत्पादन गर्ने तयारी थालेका छन् । कन्काई नगरपालिका– २ सन्का बस्तीमा ८१ लाखको लागतमा ५४ कठ्ठा जग्गा खरिद गरेर नगरबाट निस्कने फोहोर व्यवस्थापन गर्दै मिथेन ग्यास उत्पादन गर्ने तयारी छ । त्यसका लागि बिर्तामोड, अर्जुनधारा र कन्काई नगरपालिकाले काम अगाडि बढाएका छन् ।
दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारी दमक नगरको फोहोर हाल रतुवा खोलाको माथिल्लो क्षेत्रमा अस्थायी रुपमा विर्सजन गर्दै आएको बताउँछिन् ।
अधिकारी भन्छिन्, ‘त्यो क्षेत्रमा फोहोर त होला तर खुला रुपमा फालेका छैनौं । खोला किनारमा खाडल खनेर व्यवस्थापन गरेका छौं।’
दमक नगरपालिकाको फोहोर व्यवस्थापनका लागि वैकल्पिक ऊर्जा केन्द्र र विश्व बैंकको अनुदान सहयोगमा व्यवस्थित ल्यान्डफिल साइट निर्माणको काम सुरु भइसकेको उपप्रमुख अधिकारीले जानकारी दिइन् ।
‘डिपिआर तयार भइसकेकाले केही समयपछि काम सुरु हुनेछ,’ अधिकारीले भनिन्, ‘नयाँ प्रोजेक्टको उद्देश्यनै फोहोरबाट मिथेन ग्यास निकाल्ने हो । करिब २३ करोडको लगानीमा दीर्घकालीन फोहोर व्यवस्थापन हुँदै छ ।’
ल्यान्डफिल्ड साइटनिर्माणमा स्थानीयको अवरोध
फोहोरमैला व्यवस्थापनका लागि जिल्लाका स्थानीय तहहरूले पहल भने नगरेका हैनन् । तर, ल्यान्डफिल्ड साइड बनाउने भनेपछि स्थानीयले विरोध गरिहाल्छन् । मेचीनगर नगरपालिकाले बनाउन लागेको ल्यान्डफिल्ड साइटको योजनाप्रति स्थानीय विरोधमा छन् । मेचीनगर– ८ स्थित आदर्श माविको जग्गामा कृषि विश्वविद्यालय निर्माण गर्नुपर्नेमा नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइट निर्माण गर्न लागेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।
मेचीनगर वडा नम्बर ३, ५, ८ र बुद्वशान्ति गाउँपालिका वडा नम्बर– ५ का स्थानीयलेविरोध गर्दै आएका छन् । उनीहरूले मानव बस्तीलाई असर पुग्ने गरी नगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न लागेकामा आपत्ति जनाएका छन् ।
बिर्तामोड नगरपालिकाले पनि गरामनीमा ३ बिघा जग्गा किन्ने सहमति भइसकेपछि स्थानीयको विरोधपछि रोकिएको हो । मेचीनगर नगरपालिकाका लागि भने दातृ निकायबाट ३ करोड रुपैयाँ आएको छ । उक्त योजना सम्पन्न गर्न १३ करोड रुपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ ।
नयाँ बन्ने ल्यान्डफिल्ड साइटबाट बायोग्यास निकालिने प्रोजेक्ट भएको हुँदा बजेट रकम ठूलो रहेको नगर उपप्रमुख मीना उप्रेतीले जानकारी दिइन् ।वातावरणविज्ञ तथा पूर्वप्राध्यापक टंक बराल भन्छन्, ‘अहिले जसरी खुला स्थानमा स्थानीय तहहरूले सड्ने र नसड्ने फोहोरलाई गाड्ने गरेका छन्, त्यसले प्रकृति तहसनहससँगै मानिसमा पनि प्रत्यक्ष रोग निम्त्याउन सक्छ । एकातिर सहरी क्षेत्र चिटिक्क पार्ने नाममा फोहोर व्यवस्थापन गर्न नगरमा भएका खोलानाला र खाली जमिनको स्वरुप पनि बिग्रँदै गएको छ । अर्कोतिर यसले मानव स्वास्थ्यमा सरुवा रोग निम्त्याउने डर हुन्छ ।’
मेची अस्पतालका फिजिसियन डा. पिताम्बर ठाकुर जथाभावी फोहोर विस्थापनले स्थानीयमा सरुवा रोगको त्रास बढ्न सक्ने बताउँछन् । उनी भन्छन्, ‘सरुवा रोगको बिगबिगी रहेका बेला नगरहरूले जथाभावी थुपारेका फोहोरले अरु रोग पैmलन सक्छ । मानव स्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्न जरुरी छ ।’