close

फेदीखोलाले सुरु गर्‍याे  मजदुरका लागि संचय कोष

फेदीखोलाले सुरु गर्‍याे  मजदुरका लागि संचय कोष

Trulli
ADVERTISEMENT

स्याङ्जा - फेदीखोला गाउँपालिकाले मजदुर संचय कोषको सुरुवात गरेको छ । पालिकाले मजदुरहरूलाई संचय कोषमा सूचीकृत हुन तथा गराइदिन अनुरोध गरेको छ ।
 

जीवनभर अर्काका लागि श्रम गर्ने तर अप्ठ्यारो परेका बेला कोही नहुने मजदुर वर्गका लागि भन्दै फेदीखोलाले कोषको थालनी गरेको हो । दैनिक आठ सयदेखि एक हजार ५०० रुपैयाँसम्म आम्दानी गर्ने भए तापनि न्यून बचतका कारण संकटको अवस्था सामना गर्न असहज हुने वर्गका लागि यो कोषको स्थापना गरिएको पालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।


पालिकाको मजदुर संचय कोष सञ्चालन कार्यविधि, २०७७ बमोजिम पालिकाभित्रका १८ देखि ५९ वर्षका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न मजदुरलाई लक्षित गरी कोष स्थापना गरिएको अध्यक्ष सुवेदीको भनाइ छ । अध्यक्ष सुवेदीले भने, ‘चालू आर्थिक वर्षमा सार्वजनिक विकास निर्माणका काममा मजदुरलाई संलग्न गराई उहाँहरूको बैंक खातामा ज्याला रकमबाट १५ प्रतिशत रकम कट्टा गरिनेछ भने पालिकाले १५ प्रतिशत थप गरिदिन्छ ।’


पालिकास्तरमा नेपालमै पहिलो फेदीखोलाले संचय कोषको सुरुवात गरेको अध्यक्ष सुवेदीले दाबी गरे । सुवेदीले भने, ‘दिनमा एक हजारदेखि दुई हजारसम्म कमाउने मजदुर हामीकहाँ हुनुहुन्छ । तर, दिँउसोभरी काम गर्ने बेलुका सबै उडाउने, जाँड-रक्सीमा खर्च गर्ने प्रवृत्तिको अन्य होस् भन्ने हामी चाहन्छौँ । काम गरेको पैसा बचत नहुँदा गरिव सधैँ गरिव हुने स्थिति छ ।’


विकास निर्माणका काममा बाहिरका मजदुर ल्याउनुपर्ने अवस्थाको पनि अन्त्य गर्ने स्थानीयलाई परिचालन गर्ने पालिकाले जनाएको छ । कोभिडका कारण धेरैले रोजगारी गुमाउनुपर्ने अवस्थालाई समेत मध्यनजर गर्दै स्थानीय स्तरमै रोजगारीको सिर्जना गर्न मद्दत गर्ने अध्यक्ष सुवेदीले बताए ।


मजदुरहरूले जाँड-रक्सीमै धेरै पैसा खर्च गर्दा आफ्नो स्वास्थ्यलाई समेत प्रभाव पार्ने र घर परिवारलाई समेत असर गर्ने अवस्थालाई मध्यनजर गर्नुका साथै मजदुर सधैँ मजदुर नै रहने अवस्थाको अन्त्य गर्न यो कोषले मद्दत गर्ने अपेक्षा पालिकाको छ । संचय कोषमा जम्मा भएको रकम एक वर्षपछि निकाल्न सकिनेछ ।


व्यक्तिगत आवास निर्माण तथा अन्य मजदुरले समेत कोषमा सूचीकृत हुन सक्नेछन् । कोषमा सूचिकृत हुन चाहनेका लागि पालिकाले ७ मंसिरसम्म नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति फोटोसहित सम्बन्धित वडा कार्यालयहरूमा निवेदन दिन अनुरोध गरेको छ ।