close

बोटैभरि लटरम्म स्याउ तर आम्दानी शून्य

बोटैभरि लटरम्म स्याउ तर आम्दानी शून्य

Trulli
ADVERTISEMENT

रुकुम (पूर्व) - कोरोनाका कारण बजार नखुल्दा जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोटमा सजिलै स्याउ किन्न पाइँदैन । बजार खुले पनि तराईका बजारबाट आएका स्याउ किन्नुपर्ने बाध्यता छ । तर, जिल्लाकै विभिन्न स्थानमा बारीका बोटमा भने स्याउ लटरम्म फलेका छन् । बोटसम्म पुग्नेले स्याउ खान्छन् । बजार हुँदै अरू उपभोक्ताकहाँ स्याउ पुग्दैन । 


‘सिजनमा खुसी हुनुपर्ने दिन कुरेरै बस्नु परेको छ’, पुथाउत्तरगंगा गाउँपालिका–२ का राजबहादुर बुढाले भने, ‘हामी उत्पादन गर्छौं तर त्यसबाट केही आम्दानी लिन सकिरहेका छैनौं ।’ हरेक वर्षजस्तै यस वर्ष पनि फलेका स्याउ कुहिएर जाने चिन्तामा रहेको उनको पिरलो छ ।


मनग्गे स्याउ फले पनि बिक्री वितरणमा कसैको सहयोग किसानलाई छैन । ढुवानी अनुदानका लागि किसानले हरेक वर्ष स्थानीय, प्रदेश तथा संघीय सरकारलाई गुहार्दै आएका छन् । तर, कतैबाट त्यसको व्यवस्था हुन सकेको छैन । स्थानीय सरकारले हरेक वर्ष स्याउका बिरुवा वितरण गर्छ । तर, बजार व्यवस्थापनमा सहजीकरण नगर्दा किसानले समस्या बेहोर्दै आएका छन् ।


‘हरेक वर्ष हामी किसान निराश हुँदै आएका छौं,’ पूर्वजिल्ला विकास समिति सदस्यसमेत रहेका किसान लक्ष्मीप्रसाद पुन मगरले भने, ‘धेरै स्याउ बोटबाटै  झरेर कुहिन्छन्, केही स्याउ सम्बन्धित बगानको मालिक, छरछिमेकले खान्छन् ।’ 


उत्पादन गर्न किसानलाई हौस्याउने सरकार तथा सरोकारवाला निकायले बजार व्यवस्थापनमा खासै सहयोग गर्न नसकेको उनले बताए । किसानले भनेअनुसार नै स्याउ फले पनि बजार व्यवस्थापन हुन नसक्दा त्यसबाट आर्थिक आम्दानी शून्य रहेको उनको गुनासो छ । स्याउले बजार नपाउने भएपछि किसानले मिहिनेत समेत घटाउँदै लगेको पुनको भनाइ छ ।


पुथाउत्तरगंगा गाउँपालिकाका १४ वडामध्ये केही बाहेक सबैमा स्याउ फल्छ । सबैभन्दा धेरै स्याउ वडा–२ को पेल्मामा फल्छ । पेल्मा सडक सन्जालभन्दा धेरै टाढाको क्षेत्र हो । सडक सन्जालमा नजोडिँदा समस्या भइरहेको स्थानीय किसान बताउँछन् ।

 

बाह्रै महिना यातायात सञ्चालन हुन नसक्दा पनि किसानलाई समस्या परेको पुथाउत्तरगंगा गाउँपालिका–१० का तेजेन्द्र खाम मगरको भनाइ छ । ‘हामीले उत्पादनको लागतमा त केही पाएका छैनौं, बिक्री वितरणमा समेत सहयोग नहुँदा समस्या छ । ठूला बगान रहेकाले त्यहाँसम्म सडक पुर्‍याउन सके उत्पादन खेर जाने थिएन ।’


बोटसम्म पुग्ने उपभोक्ताले रूखमै चढेर स्याउ खान्छन् । तर, बोटबाट परको बजारसम्म स्याउ पुर्‍याउन नसक्नु विडम्बना भएको उनको भनाइ छ । स्थानीय तहले मात्रै बगानमा फलेका सबै स्याउ बजारसम्म पु¥याउन सक्ने अवस्था नरहेको पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती मगरले जानकारी दिए  ।

 

‘अधिकांश क्षेत्रमा फलेका स्याउ सडक सन्जालभन्दा टाढा छन्’, उनले भने, ‘घोडा, खच्चडबाट ढुवानी गर्दा महँगो पर्छ, ढुवानीमा धेरै अनुदान दिन सक्ने अवस्था पनि छैन ।’


स्याउ ढुवानीका लागि प्रदेश तथा संघीय सरकारमा अनुरोध पठाएको उनले जानकारी दिए । अघिल्लो वर्ष किसानले प्रदेश सरकारलाई स्याउ ढुवानीका लागि हेलिकप्टर उपलब्ध गराइदिन अनुरोध गरेका थिए । एकै पटकमा स्याउ ढुवानी गर्न हेलिकप्टर प्रयोग गर्ने र त्यसको भाडा सरकारले तिरिदिने गरी माग गरे पनि प्रदेश सरकारले सहयोग गर्न सकेन ।


स्याउ जुस उद्योग स्थापनामा सहयोग गर्ने भनिए पनि बजेट कम भएको भनेर किसान त्यसमा सहभागी हुन मानेका थिएनन् ।