close

मुगुका लागि आएको चामल प्रदेश राजधानीमै गायब ! 

मुगुका लागि आएको चामल प्रदेश राजधानीमै गायब ! 

Trulli
ADVERTISEMENT

मुगु - हिमाली जिल्ला मुगुका लागि ल्याउन लागिएको खाद्यान्न कर्णाली प्रदेशको राजधानी सुर्खेतमै गायब भएको छ । जिल्लाको उत्तरी भेग सोरु गाउँपालिकाको बिक्री केन्द्रका लागि आएको २ सय ५० क्विन्टल खाद्यान्न ठेकेदारको लापरबाहीका कारण सुर्खेत सुब्बाकुनाबाट गायब भएको हो । 

 

खाद्य संस्थानको चामल बिक्री गर्न लागिएको आशंकामा सुब्बाकुनाबाट सुर्खेत प्रहरीले ट्रकसहित चामल नियन्त्रणमा लिएको जानकारी दिएको छ ।  

 

सुर्खेतबाट बाहिर ढुवानी हुँदै गरेको शंकास्पद खाद्यान्न गत बिहीबार सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त चामल ट्रकबाट भक्तपुर लैजान लागिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्टका अनुसार ट्रकमा २ सय ५० चामल रहेको थियो । 

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुका निमित्त कार्यालय प्रमुख पुष्कर भामका अनुसार यसबारे शनिबार मात्रै सूचना आएको छ । उनले भने, ‘यो चामल कहाँबाट आएको हो, कति छ । जानकारीमा छैन’, भामले भने  ।

 

सोरुमा चामल पुर्‍याउने जिम्मा सिद्धार्थ ढुवानी सेवाले लिएको थियो । ठेकेदारहरुले सम्झौता गरेबमोजिम २० दिनभित्र सम्बन्धित स्थानमा पुग्नुपर्छ । कर्णाली प्रदेशको विकट मुगुका स्थानीयले वर्षैभर खाद्यान्न अभाव भोगिरहेका हुन्छन् । बीच बाटोमै खाद्यान्न गायब भएपछि प्रहरीको सक्रियतामा छानबिन अगाडि बढाइएको भामले बताए । 

 

अनुसन्धानमा संलग्न १ कर्मचारीका अनुसार ना६ख ५७२१ नम्बरको ट्रकमा रहेको २ सय ५० क्विन्टल चामल आपूर्तिकर्ता वासुदेव शर्माले भक्तपुर पठाउन लागेको जानकारीमा आएको छ ।  


उनले भने, ‘वीरेन्द्रनगरको दुर्गा भगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा बिल बनाएको भेटिएको छ । प्रतिकेजी ४२ रुपैयाँका दरले बिल काटेको देखियो । विस्तृत छानबिनपछि सबै कुरा बाहिर आउला ।’ 

 

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीको समेत मिलेमतो हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयबाट खटिएको टोलीले गत बिहीबार राती नै कागजपत्र नियन्त्रणमा लिएको थियो । 

 

प्रहरी र कम्पनीले नियन्त्रणमा लिइएको चामलबारे अनुसन्धान थालेको छ । कर्णालीका हिमाली जिल्ला पठाउनुपर्ने चामल आपूर्तिकर्ता ठेकेदारले भक्तपुर पठाउने गरेको खुलेको छ ।कम्पनीसँग १६ असोजमा भएको सम्झौताअनुसार शर्माले जापानी चामल १ हजार क्विन्टल र अरुवा मोटा चामल १ सय क्विन्टल उठाएका थिए ।

 

‘मुगु पठाउनुपर्ने चामल भक्तपुर पठाउन लागेको प्रस्टै छ’, अनुसन्धानमा संलग्न ती कर्मचारीले भने, ‘कम्पनीको गोदामबाट उठाइएको अरू चामल कहाँ लगेर बेचियो भन्ने रहस्य बाहिर आउनै बाँकी छ ।’