close

जयपृथ्वीका कैलाश र पुगरबासीले अझै देख्न पाएनन् बिजुली

जयपृथ्वीका कैलाश र पुगरबासीले अझै देख्न पाएनन् बिजुली

Trulli
ADVERTISEMENT

बझाङ - बझाङको जयपृथ्वी नगरपालिका वडा-१ कैलाश र वडा-३ का पुगरबासी विद्युत् सुविधा नहुँदा अध्याँरोमा बस्न बाध्य भएका छन् । नगरपालिकाका सबै ठाउँमा विद्युत् पहुँच पुगे पनि कैलाश र पुगरबासीले भने अझैसम्म बिजुली बाल्न नपाएका हुन् । 


लामो समयदेखि विद्युत् विस्तार हुने बताए पनि अहिलेसम्म लाइनै नतानिएकाले स्थानीय अन्धकारमा बस्न बाध्य भएको कैलाशका अर्जुन सिंहको गुनासो छ ।


‘कैलाशमा विद्युत् पोल गाडिए पनि अझै तार लाइन विस्तार हुन सकेको छैन । सरोकारवाला निकाय धाउँदाधाउँदै थाकिसक्यौं । भोलिभोलि मात्र भन्छन्, कहिले आउने हो तार टुंगो छैन,’ सिंहले भने । 


पुगरमा पनि लामो समयदेखि स्थानीयलाई नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बझाङले विद्युत विस्तारको आश्वासन दिए पनि अझैसम्म ठेक्का सम्झौता नगरेको स्थानीय रमेशबहादुर ओली बताए । पुगर र कैलाशबासीले यसअघि दुई-तीन पटक सम्बन्धित निकायमा ज्ञापनपत्रसमेत बुझाइसकेका छन् । 


प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य, नगरप्रमुख र कर्मचारी गोलाई, पडेश र कैलाशकै भए पनि स्थानीयका समस्यामा उदासीन रहेको जयपृथ्वी नगरपालिका- ३ साजेगडाका मानबहादुर ओलीले सुनाए ।

 

कैलाशमा करिब पाँच सय बढी घरधुरी अन्धकारमा छन् भने पुगरमा ८० बढी घरधुरीले बत्ती बाल्न पाएका छैनन् ।