close

सहकारीमार्फत गोजी भर्दै अर्घाखाँचीका महिला 

सहकारीमार्फत गोजी भर्दै अर्घाखाँचीका महिला 

Trulli
ADVERTISEMENT

अर्घाखाँची - अर्घाखाँचीमा पछिल्लो समय गठन भएका आमा समूहहरू सहकारीमा रुपान्तरण भएका छन् । जिल्लाका ६ स्थानीय तहमा गठन भएका साना किसान महिला सहकारी संस्थामा ७ हजार २ सय घरधुरीका महिला आबद्ध भई उत्पादनमूलक काममा लागेका छन् ।

 

गाउँमा आमा समूह गठन गरेर नियमित बचत गर्ने गरेकामा अहिले सहकारीमा आबद्धता भएको मालारानी वडा- ५ की स्थानीय राधा आचार्यले बताइन् । 

 

‘सुरुमा सहकारीमा बस्ने भन्दा के होला भन्ने लागेको थियो । अहिले राम्रो गरिएछ भन्ने भएको छ । नियमित बचतसँगै उत्पादनसँग जोडिनुपर्दछ भनेर गाईभैंसीको दूध बिक्री गर्न लागेकी छु,’ आचार्यले भनिन् । गाउँमा राधाजस्तै अन्य दिदीबहिनीहरूले पनि घरमा उत्पादित वस्तुलाई हाटबजारमा लगेर बेच्न सुरु गरेका छन् । 


मालारानी गाउँपालिका वडा- ६ मा प्रत्येक शनिबार सहकारीका सदस्यहरूले उत्पादन बिक्री वितरण गर्दै आएको फूलबारी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष लालु रानाले जानकारी दिइन् । ‘सुरुमा समुदायका सदस्य अगाडि उभिएर नाम भन्नसमेत गाह्रो परेको थियो तर अहिले आफ्ना कुरा आफैँ गर्न सक्ने भएका छौँ,’ रानाले भनिन् ।

 

जिल्लामा किसानका लागि उन्नत बिउबिजन कार्यक्रमको आर्थिक सहयोग नेपाल कृषि सहकारी संघ र साना किसान बैंकको साझेदारीमा सञ्चालन भएको कार्यक्रमले जिल्लामा १० वटा सहकारी संस्था स्थापना भएका थिए ।


अर्घाखाँचीमा १० सहकारी संस्थामा ११ सय ७ वटा उप-समूह छन् । ती समूहको नियमित बैठक बस्ने, बचत गर्ने र उत्पादन क्षेत्रमा लाग्ने गरी काम सुरु गरेको फिल्ड प्रशिक्षक उमा भुसालले बताइन् । 

 

‘सुरुमा सहकारी गठनका बेला दिदीबहिनीहरूबीच बसेर छलफल चलउँदा संख्या कम भए पनि अहिले सञ्जाल ठूलो भएको छ । सहकारीहरू आत्मनिर्भको बाटोमा अगाडि बढेका छन्,’ भुसालले भनिन् । सहकारी सञ्चालनका लागि स्थानीय सरकारले समेत सक्दो सहयोग गरेको नेपाल कृषि सहकारी केन्द्रीय संघका कार्यक्रम अधिकृत वसन्त अर्यालले जानकारी दिए । 

 

‘सहकारी संस्थाहरूले उत्पादनसँग जोडिएर काम गर्ने गरी योजनाहरू अगाडि बढाएका छन् । सहकारीमार्फत प्रविधि हस्तान्तरणलगायत काममा समेत स्थानीय सरकारको सहयोग रहेको छ भने कर्मचारी व्यवस्थापन पनि आर्थिक सहयोग दिएका छन्,’ अयालले भने ।

 

देशलाई समृद्धिको यात्रामा अगाडि बढाई समाजवादको बाटोमा सहकारी संस्थाहरू हिँडेको प्रदेशसभा सदस्य चेतनारायण आचार्यले दाबी गरे ।

 

फूलबारी साना किसान कृषि महिला सहकारी संस्थाको दोस्रो साधारणसभा अवसरमा आचार्यले भने, ‘महिला दिदीबहिनीहरूले साना किसान कृषि सहकारी संस्थामार्फत समाजवादको अभ्यासलाई व्यवहारमा उतारेको देखियो,’ आचार्यले दाबी गरे ।

 

प्रदेश सरकारले सहकारीमार्फत आयआर्जनमूलक काम गर्न अनुदानको व्यवस्था गरेकाले उत्पादन र बजारीकरण गर्नुपर्नेमा उनले जोड दिए । आचार्यले भने, ‘हामीले जिल्लाका ३ स्थानमा उत्पादनलाई बजारीकरण गर्न  कोल्ड स्टोर निर्माण गर्ने गरी काम अगाडि बढाएका छौँ ।’ 

 

मालारानीले सहकारीमार्फत प्रविधि हस्तान्तरण कार्यक्रम सुरु गरेको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । ‘हामीले पालिकालाई सहकारीमार्फत समृद्ध बनाउने गरी योजनाहरू अगाडि बढाएका छौँ,’ उनले भने ।

 

मालारानीका महिला दिदीबहिनीहरूले सहकारीमार्फत आयआर्जन बढाउने काम गरेको पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले दाबी गरिन् ।