close

घरको फोहोर प्रशोधन गरेर भक्तपुरमै बन्न थाल्यो कम्पोष्ट मल 

घरको फोहोर प्रशोधन गरेर भक्तपुरमै बन्न थाल्यो कम्पोष्ट मल 

Trulli
ADVERTISEMENT

भक्तपुर - घरबाट दैनिक रुपमा निस्कने फोहोर देखेपछि छिःछिः भन्दै भाग्ने ठूलो जमात छ समाजमा । सकेसम्म दुर्घन्दित बस्तुको अगाडि समेत नपर्ने चलन नै जस्तो छ । 


तर भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले भने फोहोरबाट मोहर उत्पादन गर्दै आएको छ । नगरपालिकाले रिकिसी कम्पोष्ट मलसँग सहकार्य गरी घरबाट निस्कने फोहोरबाट कम्पोष्ट मलको उत्पादन गर्दै आएको छ । 


परीक्षणको रुपमा नगरको वडा नं. ४ विष्णु कुण्डलका स्थानीयहरुको फोहोर संकलन गर्दै नगरले अन्य क्षेत्रमा विस्तार गर्ने योजना समेत बनाउँदै छ । 

 

नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार उत्पादित कम्पोष्ट मलबाट फोहोरको व्यवस्थापन मात्रै नभई स्थानीय कृषकको वाली समेत सप्रिएको छ । उनले भने, ‘कम्पोष्ट मलको प्रयोगबाट कृषि उत्पादनमा झण्डै तीन गुणा वृद्धि भएको छ ।’ 


पालिकाका अनुसार अव कम्पोष्ट मल प्रालिलाई अरु वडासमेत विस्तार गरिने छ । केही समयपछि करको दायरामा ल्याएर नगरको आम्दानीको स्रोतको रुपमा समेत विकास हुनेछ । 


रिकिसी कम्पोष्ट मलको इतिहास


यो जापानी प्रविधि हो । विगत तीन वर्ष देखि सञ्चालनमा आएको यो अभियान कुहिने फोहोरको व्यवस्थापन मात्रै होइन, स्थानीयको आम्दानीको स्रोत नै बनेको छ ।


प्रालिका निर्देशक उषा गिरीका अनुसार सुरुमा जापानमा अध्ययन गरेको प्रविधि नेपालमा आएर प्रयोग गरिएको हो । ‘जापान हुँदा मेरो दाईले जापानमा यस बारे अध्ययन गर्नु भएको थियो, ’उनले भनिन्, ‘जापानमा लगानी धेरै उत्पादन कम ।’


सरकारले मलको लागि बार्षिक रुपमा अर्वौ रकम मल आयातमा खर्च गरेको छ । सरकारको यो लागत घटाउन स्थानीय स्रोतको प्रयोगबाट मल उत्पादन गरिएको निर्देशक गिरीले बताए । 


नगरप्रमुख श्रेष्ठले पनि जापान मा यो प्रविधि अध्इयन गरेपछि सोही प्रविधिबाट काम गर्दे आएको संस्थासँगको सहकार्यमा फोहोर व्यवस्थापन थालिएको बताए । 

 

कम्पोष्ट मलको उत्पादन चक्र


वडा नं. ४ का दुई हजार घरधुरीबाट प्रत्येक मंगलबार फोहोर संकलन गरिन्छ । प्रत्येक घरलाई निःशुल्क २० लिटरको बाल्टिन, जाली र टोकोचाई (भूसको धूतो, पात, रातोमाटोको मिश्रणबाट बनेको) दिइन्छ । ‘उहाँहरुले त्यसमा बढी भएका खाना, कुहिने फोहोर राख्नु हुन्छ । टोकोचाईले फोहोरलाई कुहिन, गन्हाउनबाट बचाउँछ,’ प्रालिका कर्मचारी सविता श्रेष्ठ भन्छिन् । 


प्रालिका श्रेष्ठका अनुसार स्थानीयबाट संकलन गरी ल्याएको फोहोरलाई जापानी प्रविधिबाट मल तयार गरिन्छ । तयारीको क्रममा कार्पेटबाट मललाई पूर्ण रुपमा छोपिन्छ । जसले हावा र घामबाट बचाउँछ । हप्ता हप्तामा पल्टाइन्छ ।  मल तयार हुन ३ महिनादेखि ६ महिनासम्म लाग्छ । संस्थाले रातो माटो, पात, उखुलगायत विभिन्न कच्चा पदार्थबाट करिव ८ किसिमको कम्पोष्ट मल उत्पादन गर्दै आएको छ । 


उत्पादित मललाई स्थानीय स्तरमा मात्रै नभइ देशका विभिन्न जिल्लामा लगिन्छ । मल तयार भएपछि प्याकिङ गरिन्छ । प्रतिकेजी ३५ रुपैयाँ पर्ने यो मलमा अनुदान पाएका कारण २५ रुपैँयामा विक्री गर्ने गरेको फोहोर उत्पान संस्थाले जनाएको छ ।


नगदेबाली, तरकारी खेती, व्यावसायिक खेतीमा विशेष प्रयोग हुने गरेको छ । मल हलुका वजनको हुने भएकोले कौसी खेतीको लागि समेत प्रयोग हुने स्थानीय बताउँछन् । 


स्थानीय बढी लाभान्वित

 

पहिले भान्सा तथा घरबाट आउने फोहोर व्यवस्थापन गर्न सकस हुने सुनाउँछन्, स्थानीय सन्तलक्ष्मी श्रेष्ठ । तर आजभोलि संस्थाले निःशुल्क फोहोर संकलन गर्दै आएको छ । 

 

उनले भनिन्, ‘पहिले चोक चोकमा फोहोरमा थुप्रो हुन्थ्यो । आजभोली सफा छ । टोल नै फोहोरमुक्त भएको छ ।’


श्रेष्ठका अनुसार संस्थाले स्थानीयसँग निःशुल्क फोहोर संकलन गर्दै आएको छ । संकलित फोहोरलाई मल बनाउने व्यक्ति वा कर्मचारी पनि स्थानीय नै हुन् ।


स्थानीय तथा प्रालिका कर्मचारी चन्द्रलक्ष्मी श्रेष्ठका अनुसार प्रालिको कारण घरमा आर्थिक समस्या समेत समाधान हुने गरेको छ ।


प्रालिको जनशक्तिको लागि स्थानीयलाई प्राथमिकता राख्न नगरले अनुरोध गरेको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार संस्थामा प्राविधिक कर्मचारीबाहेक अरु सवै कर्मचारी स्थानीय नै छन् । प्रालिका अनुसार ३५ जना कर्मचारी मध्ये २५ देखि ३० जना स्थानीय क्षेत्रका छन् ।