close

१५ चैतदेखि यसरी वितरण हुँदैछ मेलम्चीको पानी 

१५ चैतदेखि यसरी वितरण हुँदैछ मेलम्चीको पानी 

Trulli
ADVERTISEMENT

काठमाडौं– बहुप्रतीक्षित मेलम्चीको पानी आगामी आइतबार काठमाडौंबासीको धारामा खसालिने भएको छ । गत २३ फागुनमा पहिलो पटक काठमाडौंको सुन्दरीजल आइपुगेको मेलम्चीको पानी आइतबारबाट धारामा वितरण गर्न लागिएको हो । 

 

गत २२ फागुनमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा मेलम्चीको पानीलाई पहिलो पटक सुन्दरीजलमा खसालिएको थियो । १५ चैतमा काठमाडौंबासीको धारामा पठाइने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

 

काठमाडौंबासीका धारामा दिनहुँ २ घन्टा पानी वितरण गरिने आयोजनाले बताएको छ । सुन्दरीजलमा आएको पानी २७ फागुनमा बागमती नदीमा मिसाइएको थियो । 

 

१५ चैतमा धारामा पानी पठाए पनि पिउनयोग्य भने नहुने मेलम्ची उप–आयोजना निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले जानकारी दिए । 

 

उनले भने, ‘१५ चैतमा नयाँ पाइपबाट पठाइएको पानीमा फोहोर हुने भएकाले पिउनयोग्य हँुदैन । पाइप पखालिसकेपछि पहिले त्यसको प्रेसर टेस्ट गर्नुपर्छ । लिकेजहरू कहाँ–कहाँ छन् भन्ने पत्ता लगाउनुपर्छ ।’

 

टेस्ट सफल भएपछि मात्र पाइप पखाल्ने काम सुरु हुने उनले बताए । परीक्षण सफल भएपछि लिकेज देखिए पुनः मर्मत गर्नुपर्नेछ । त्यसपछि लिकेजमा सफा भए मात्रै डिसइन्फेक्सन गर्नुपर्नेछ । 

 

डिसइन्फेसनलाई प्रशोधित पानीले सफा गर्छ । धेरै प्रक्रिया पूरा भएपछि मात्रै पिउने गरी घरघरमा पानी दिन सकिने उपनिर्देशक प्रजापतिको भनाइ छ । 

 

यसरी गरिँदै छ वितरण

 

मेलम्चीको पानी संकलनका लागि राजधानीमा ९ वटा पानीपोखरी (ठूला ट्यांकी) निर्माण भइसकेका छन् । १० पोखरीमध्ये ९ वटाको काम सम्पन्न भइसकेको मेलमची खानेपानी आयोजनाले जनाएको छ । 

 

तत्काल महाँकाल चोक, बासँबारी, बालाजु, खुमलटार, मीनभवन, महाराजगञ्ज, कीर्तिपुर, धोबिघाट, अनामनगरमा रहेको पोखरीमा पानी जान्छ । सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी प्रशोधन गरिसकेपछि आयोजना कार्यान्वयन निर्देशनालयले बिछ्याएको नयाँ वितरण प्रणालीको पाइप परीक्षण सुरु हुन्छ ।

 

पुरानै पाइप लाइनबाट पुरानै धारामा पानी पठाउने तयारी रहेको प्रजापतिले बताए । अहिलेलाई पानी सदुपयोग गर्न पुरानैमा पठाउन लागेको प्रजापतिको भनाइ छ । 

 

कति क्षमताका छन् ट्यांकी

 
मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएका १० मध्ये वटा ट्यांक (पोखरी) बाट उपत्यकाका विभिन्न स्थानमा पानी वितरण गरिनेछ  । आरुबारीमा ८ हजार ५ सय, बाँसबारीमा ९ हजार ५ सय, महाँकालमा ८ हजार, खुमलटारमा ९ हजार ५ सय, बालाजुमा ७ हजार, भक्तपुरको टिगनीमा ३ हजार, महाराजगञ्जमा ७ हजार ५ सय, कीर्तिपुरमा ६ हजार र धोबीघाटमा ८ हजार ५ सय घनमिटर क्षमताको पोखरी निर्माण भइसकेको छ । कटुन्जेमा ६ हजार घनमिटर क्षमताको पोखरी निर्माण भइरहेको छ ।

 

मेलम्ची, यांग्र्री र लार्के खोलाबाट करिब ५१ करोड लिटर पानी उपत्यकामा भित्रिने र ४० लाख जनताले सामानुपातिक हिसाबले उपयोग गर्न सक्ने प्रजापतिले बताए । थोक वितरण प्रणाली (मुख्य) को पाइपमा पानी पठाएर परीक्षण भइसकेको छ ।

 

सुन्दरीजलबाट बाग्मतीको पानी नयाँ पाइपबाट दैनिक ३ करोड लिटरका दरले ल्याएर परीक्षणसमेत गरिसकिएको प्रजापतिले जानकारी दिए । ‘महाँकाल पोखरीमा पानी ल्याएर त्यहाँबाट अन्यत्र पठाएर परीक्षण गरिसकेका छौँ,’ उनले भने, ‘केही बस्तीका पाइपमा पनि पानी पठाएर परीक्षण गरेका छौँ ।’

 

अनामनगरलगायत क्षेत्रका करिब १५ हजार धाराको समेत परीक्षण गरिएको उनले बताए । हालसम्म पाइपमा कतै ठूलो चुहावट नदेखिएको उपनिर्देशक प्रजापतिको भनाइ छ ।