close

विद्युत् अनियमित हुँदा कोलका बासिन्दालाई सास्ती

विद्युत् अनियमित हुँदा कोलका बासिन्दालाई सास्ती

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १२ र १३ अर्थात् साविक कोल गाविसका बासिन्दा विद्युत् अनियमितताका कारण सास्ती भोग्य बाध्य छन् ।


गाउँपालिकाको वडा नम्बर १३ स्थित ओख्मा खोला लघु जलविद्युत् आयोजनाबाट अनियमित विद्युत् सेवा प्रवाह हुँदा स्थानीयले सास्ती खेपेका हुन् ।


६९ किलोवाट क्षमताको ओख्मा खोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएको समयदेखि नै विद्युत् सेवा अनियमितताका कारण सास्ती बेहोरिरहेको वडा नम्बर १२ गोल्खाडाका इन्शेष पुन मगरले बताए । 


पाँच वर्षअघि सञ्चालनमा आएको ओख्मा खोला लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पटक-पटक अनियमित हुँदासमेत सरोकारवाला निकायको ध्यान नपुगेको पुनको भनाइ छ । 


पछिल्लो पटक असारदेखि हालसम्म विद्युत् आउने/जाने भइरहेकाले शुल्क मात्र तिरिराख्नुपरेको पुनले सुनाए ।


विद्युत् नियमित हुनुपर्ने भनी वडा कार्यालय, विद्युत् सञ्चालक समितिसमक्ष पटक-पटक माग राख्दा पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको पुनको दुखेसो छ । 

 

वडा नम्बर १२ का वडाध्यक्ष गंगाबहादुर पुन मगरले ग्राहकको गुनासोलाई बेवास्ता नगरेको बताए । विद्युत् निर्माण गर्दाको समयमै काम राम्रोसँग नभएकाले त्यसको असर अहिले भोगिरहनु परेको वडाध्यक्ष पुनले जानकारी दिए ।


विद्युत् उत्पादन निर्माण कार्यमा निर्माण उपभोक्ता समितिले दिगोपन काम नगरेकाले हाल समस्या आइरहेको पुनको भनाइ छ ।


विद्युत् नियमित गर्न छिट्टै स्थानीयसहित विद्युत् उपभोक्ता समितिसँग बैठक बसी समस्या समाधानतर्फ लाग्ने वडाध्यक्ष पुनले दाबी गरे । 


विद्युत् सञ्चालक समितिले भने अधिकांश सेवाग्राहीबाट उपभोग गरेबापतको शुल्क उठ्न नसकेकाले हाल विद्युत्मा देखिएको समस्या समाधान गर्न नसकिएको बताएको छ । 


वडा नम्बर १२ र १३ वडाका करिब १ हजार घरधुरी र प्राथमिक स्वास्थ्य केन्द्र कोललाई समेत विद्युत् परिपूर्तिमा समस्या भइरहेको छ ।