close

आजदेखि ८ विमानस्थलमा १८ घण्टा उडान हुने

जेठ १५ देखि अन्तर्राष्ट्रिय विमानस्थलले चौबिसै घण्टा सेवा दिने

आजदेखि ८ विमानस्थलमा १८ घण्टा उडान हुने

जेठ १५ देखि अन्तर्राष्ट्रिय विमानस्थलले चौबिसै घण्टा सेवा दिने

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि काठमाडौँसहित देशका ८ विमानस्थलमा रात्रिकालीन उडान सुरु गरेको छ ।

 

रात्रिकालीन उडानयोग्य रहेका पूर्वको भद्रपुरदेखि सुदूरपश्चिमको धनगढीसम्मका विमानस्थलमा आजदेखि राति १२ बजेसम्म सेवा सञ्चालन गर्ने भएको हो।

 

नियामक निकाय प्राधिकरणले आजदेखि भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई दैनिक १८ घण्टा सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

 

हालसम्म १२ घण्टा मात्र सञ्चालन हुँदै आएका यी विमानस्थलहरू आजबाट बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालन हुने छन्।

योसँगै काठमाडौँ विमानस्थलमा रहेको उडानको चाप पनि व्यवस्थापन हुने तथा पर्यटन क्षेत्रलाई समेत राहत पुग्ने प्राधिकरणको अनुमान छ।

 

उडान ढिलाइ भएकै कारण घण्टौँ यात्रुले विमानस्थलको भुईँमा नै समय बिताउनु पर्ने समस्या हटेर जाने प्राधिकरणको विश्वास छ। रात्रिकालीन उडानका लागि नेपालमा उडान भर्ने आन्तरिक र अन्तर्राष्ट्रिय एयरलाइन्ससँग छलफल भइसकेको प्राधिकरणले जनाएको छ।

 

उता नेपालमा रहेका अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएका छन्। बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार आगामी जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा ल्याइने छ । उनले कोभिड महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौँको विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय भएको बताए।   

 

कोभिड महामारीको ३ वटा लहरपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ। साथै व्यवस्थापनमा चुनौती पनि बढेको छ । विमानस्थलको प्रभावकारी व्यवस्थापनका लागि आफूहरू जुटिरहेको महानिर्देशक अधिकारीले बताए।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अब २४सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ।

 

प्राधिकरणले यही वैशाख ८ गतेदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग सञ्चालनमा ल्याएको छ। महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याइसकेको छ ।

 

'पाइलटले वैशाख ८ गतेपछि भैरहवाको पुरानो धावनमार्गलाई चिन्ने छाडेका छन्, हामीले नयाँ विमानस्थलसँग सम्बन्धित हवाई रुट, धावनमार्ग, नेभिगेसन, उडान व्यवस्थापन प्रणाली, विमानस्थलमा रहेका सुविधाबारे विस्तृत प्राविधिक जानकारी एयरर्‍याक (एरोनटिकल इन्फरमेसन रेगुलेसन एन्ड कन्ट्रोल) मा प्रकाशन गरी सक्यौ,' महानिर्देशक अधिकारीले भने।

 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग सञ्चालनमा आएसँगै अबदेखि विदेशी जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आकस्मिक कारणमा भैरहवा विमानस्थलमा अवतरण गर्न सक्नेछन्। नेपाल वायु सेवा निगमको वाइडबडी विमानले आजै भैरहवा विमानस्थलमा परीक्षण उडान समेत भरेको छ ।  कोभिड महामारीबाट थला पर्नुअघि काठमाडौँको विमानस्थलमा एबै वर्ष ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए।