close

आइओसीले फेरि बढाएर पठायो सबै इन्धनको मूल्य, नेपालमा तत्काल नबढ्ने संकेत

आइओसीले फेरि बढाएर पठायो सबै इन्धनको मूल्य, नेपालमा तत्काल नबढ्ने संकेत

Trulli
ADVERTISEMENT

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसीले) फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर नेपाल आयल निगममा पठाएको छ।

 

आइओसीले १५-१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्छ। सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्छ। तर, नजिकिँदो चुनावका कारण नेपाली उपभोक्तालाई तत्काल बढेको मूल्यले मार नपार्ने निगम स्रोत बताउँछ ।

 

यसअघि वैशाख ३ गते आइओसीले पठाएको मूल्यको तुलनामा अहिले सबैभन्दा बढी खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ। १५ दिन अघिभन्दा अहिले ग्यासको मूल्य प्रति सिलिन्डर ९८ रुपैयाँ ७३ पैसा बढेको छ। १५ दिन अगाडि निगमले प्रतिसिलिन्डर २ हजार ५ सय ५१ रुपैयाँ ४५ पैसामा पाउने ग्यासलाई अब २ हजार ६ सय ५० रुपैयाँ १८ पैसा तिर्नु पर्ने भएको छ।

 

त्यस्तै डिजेलमा प्रतिलिटर दस रुपैयाँ ८ पैसा बढेको छ। पछिल्लो मूल्य अनुसार डिजेल प्रति लिटरको एक सय ७३ रुपैयाँ ५ पैसा थियो भने अब १ सय ८३ रुपैयाँ १३ पैसा पर्ने भएको छ।

 

पेट्रोलको खरिद लागत प्रतिलिटर १ सय ८३ रुपैयाँ २ पैसा पुगेको छ। १५ दिनअघि पेट्रोलको खरिद लागत प्रतिलिटर १ सय ७८ रुपैयाँ १६ पैसा थियो। अहिले पेट्रोलको खरिद लागत ४ रुपैयाँ ८६ पैसा वृद्धि भएको छ।

 

हाल निगमले ग्यास प्रतिसिलिन्डर १ हजार ६ सयमा बिक्री गरिरहेको छ भने पेट्रोल लिटरको १ सय ६० र डिजेल एक सय ४३ रुपैयाँमा बेचिरहेको छ।

 

त्यस्तै पछिल्लो मूल्यको तुलनामा मट्टितेल लिटरमा ३ रुपैयाँ ८६ पैसा  महँगो भएको छ। हवाई इन्धन (आन्तरिकतर्फ) पनि ४ रुपैयाँ १२ पैसा र बाह्यतर्फ ४ रुपैयाँ १४ पैसा बढेर आएको छ।

 

आइओसीले धेरै समयपछि सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो। पछिल्लो समय कुनै न कुनै इन्धनको मूल्य घटेर आउने गरेको थियो। वैशाख ३ गते पेट्रोलको मूल्य केही गिरावट आएको थियो। विश्व बजारमा प्रशोधित तेलको मूल्य बढेकाले पेट्रोलियम पदार्थको मूल्य बढिरहेको हुनाले यसको असर विश्वभर देखिएको छ ।

 

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैँ कच्चा तेल किन्दैन। आइओसीबाटै आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ किन्दै आएको छ।

 

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत अन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

 

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ।

 

यस पटक आइओसीले मूल्य बढाएर पठाए पनि निगमले मूल्य बढाउने तयारी गरेको छैन। पहिले आइओसीले नयाँ मूल्य पठाउने बित्तिकै निगमले हेरफेर गर्थ्यो। पछिल्लो समय भने दुई-तीन पटक नयाँ मूल्य आउँदा पनि निगमले यहाँ भाउ हेरफेर गरेको छैन। मूल्य बृध्दि भएको अवस्थामा स्थानीय तह चुनावमा सत्तारुढ गठबन्धनलाई प्रभाव पार्ने अनुमान सहित सरकारको निर्देशनमा निगमले पेट्रोलियम पदार्थको मूल्य स्थिर राख्ने बताइएको छ ।

 

वैशाख १८ गते बढेर आएको मूल्यसँगै आगामी १५ दिनमा आयल निगमलाई करिब पाँच अर्ब १९ करोड रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ।

 

आइओसीले पठाएको मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ दुई पैसा र डिजेलमा ४० रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यास सिलिन्डरमा एक हजार पचास रुपैयाँ १८ पैसा घाटा हुने निगमले जनाएको छ।

 

मट्टितेल भने लिटरमा २ रुपैयाँ ८१ पैसा, हवाई इन्धन आन्तरिकतर्फ १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको निगमले जनाएको छ।