close

बजार अनुगमन तीव्र, मूल्यसूची नराख्नेलाई ५ हजार जरिवाना

बजार अनुगमन तीव्र, मूल्यसूची नराख्नेलाई ५ हजार जरिवाना

Trulli
ADVERTISEMENT

काठमाडौं । उपभोक्तामाथि ठगी गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार भक्तपुरको मध्यपुर ठिमीस्थित एक डिपार्टमेन्टल स्टोरलाई दुई लाख जरिवाना गर्‍यो । विभागको टोलीले अनुगमन गर्दा सो स्टोरले खाद्यवस्तुको ‘रिलेबलिङ’ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएको थियो । 

विभागको अनुमगन टोलीले बिहीबार गुणस्तर, परिमाण र मूल्यमा उपभोक्तामाथि ठगी गरेको पाइएपछि ललितपुरको इमाडोलस्थित एक खाद्य वस्तु बिक्रेतालाई दुई लाख जरिवाना गर्‍यो । टोलीले मूल्यसूची, फर्म दर्ता प्रमाणपत्र बिक्री स्थलमा नराखेको भन्दै ललितपुरकै लगनखेलस्थित एक औषधि पसललाई ५० हजार जरिवाना गरेको छ । 

चाडबाड नजिकिएसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ । पछिल्लो एक सातामा मात्रै विभागले २७२ फर्ममाथि अनुगमन गरेको छ । गत साउनदेखि हालसम्म ८४४ फर्मको अनुगमन गरी १७५ वटा फर्मलाई जरिवाना गरिएको छ । 

विभागका निर्देशक हरि पङ्गेनी चाडबाड नजिकिँदै गर्दा उपभोग्य वस्तुको खरिद बिक्री बढ्ने अवस्थामा उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले बजार अनुमगनलाई तीव्र पारिएको बताउँछन् । अनुगमनका क्रममा खरिद बिल नराखेको, दर्ता प्रमाणपत्र देखिने गरी नराखेको, मूल्यसूची नराखेका अधिकांश फर्मलाई विभागले ५ हजार जरिवाना गरेको छ । 

बजार अनुगमनमा सरकारको उपस्थिति देखाउने र स्वच्छ बजार कायम गर्ने उद्देश्यले अनुगमन गरिरहेको उनको भनाइ छ । विभागले १० वटा अनुगमन टोली बनाएर दैनिक बजार अनुगमन गरिरहेको छ । अनुमगनका क्रममा व्यापारीले बिलबिजक देखाउन नसक्ने, खरिद र बिक्री बिल नभएको, सरसफाइमा ध्यान नदिएकोलगायतका अवस्था भेटिएको थियो । विभागले क्षेत्रगत विज्ञलाई साथमा लिएर अनुगमन गरिरहेको छ । 

सार्वजनिक बिदाका दिन पनि अनुमगनका लागि विभिन्न स्थानमा टोली खटिइएको निर्देशक पङ्गेनीले जानकारी दिए । बजारलाई व्यवस्थित बनाउन केही दिनअघि विभागले काठमाडौं महानगरसँग पनि छलफल गरेको छ । स्थानीय तहका उपप्रमुख बजार अनुमगन समितिको अध्यक्ष हुने व्यवस्था छ ।