close

एसियाकै उत्कृष्ट बन्यो एनएमबी बैंक 

एसियाकै उत्कृष्ट बन्यो एनएमबी बैंक 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालका २८ वाणिज्य बैंकमध्ये पहिलो पटक एनएमबी बैंक एसियाको उत्कृष्ट बैंक बन्न सफल भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा एनएमबीले एसियाकै उत्कृष्ट बैंक बन्न सफल भएको घोषणा गरेको हो ।


एनएमबी बैंकले ‘बैंक अफ द एसिया २०२१’ अवार्ड पाएको छ । बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले उक्त अवार्ड प्रदान गरेको हो । १ शाखा र ३५ कर्मचारीबाट बैंकिङ सेवा सुरु गरेको बैंकले १३ वर्षको यात्रामा ४ पटक ‘बैंक अफ द इयर’ हुँदै यस पटक एसियाकै उत्कृष्ट बैंक बन्न सफल भएको हो । 


यो उपलब्धि राष्ट्र बैंक, सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मुलुकका लागि गौरवको विषय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताए । चीन, भारत, हङकङ, दक्षिण एसिया र जापानजस्ता एसियाकै स्पर्धीलाई पछि पार्दै एनएमबी एसियाकै उत्कृष्ट बैंक घोषित भएको हो ।


‘एसियाका ४८ मुलुकलाई पछाडि पार्दै एनएमबी बैंक सर्वोत्कृष्ट बन्नु सबैको जित हो । बैंक मात्रै होइन, नेपाल र राष्ट्र बैंकको जित हो,’ सिईओ केसीले भने, ‘आफूभन्दा अघि आएका बैंकहरूभन्दा एनएमबीले दिगो विकासका लागि काम गरेको हुँदा उत्कृष्ट बन्न सफल भएको हो ।’


बैंकले सुशासन र वित्तीय साक्षरतामा ध्यान दिँदै बोर्ड व्यवस्थापनप्रतिको विश्वासले पुरस्कृत हुन सम्भव भएको उनको भनाइ छ । विदेशीबाट सबैभन्दा बढी पैसा ल्याउने बैंकका रूपमा एनएमबी रहेको छ ।


बैंकले ४५ बढी हाइड्रो प्रोजेक्टमा लगानी गरेको छ । सिमेन्टमा लगानी गरी मुलुकलाई सिमेन्टमा आत्मनिर्भर बनाउन पनि बैंकले सहयोग गरेको छ । देशमा नयाँ उद्यमी जन्माउनेदेखि विदेशबाट ठूलो रकम नेपाल भित्र्याउन एनएमबी बैंकले पहल गरेको बैंक अध्यक्ष पवन गोल्यानले बताए । उनले भने, ‘आजभन्दा ४ वर्ष अगाडि विदेशमा भएको ‘बैंक अफ द एसिया’ अवार्ड वितरण कार्यक्रममा सहभागी हुँदा मैले सिइओलाई हामीले पनि अबको ३ वर्षभित्र यही अवार्ड पाउनुपर्छ भनेको थिएँ । एक वर्ष ढिलो भइयो तर हामी यो अवार्ड पाउन सफल भयौँ ।’


सन् २००० मा स्थापित बैंक अफ द इयर अवार्ड प्रत्येक वर्ष विभिन्न देशका उत्कृष्ट बैंकिङ सेवा दिने बैंकहरूले पाउँदै आएका छन् । बैंकको वृद्धि र कार्य सम्पादनको शैली, रणनीतिक पहल, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम् सेवा र उत्पादन, दिगो विकासका लागि गरिएका गतिविधि र प्रतिकूल परिस्थितिको सामना गर्ने क्षमताजस्ता विभिन्न मापदण्डका आधारमा यो अवार्ड दिइने गरेको छ ।


बैंकका प्रमुख व्यवसाय रणनीतिक अधिकृत सुदेश उपाध्यायले परम्परागत बैंकिङभन्दा एक कदम अगाडि बढेर बैंकले डिजिटल रुपान्तरण र दिगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै आएकाले पनि अवार्ड पाउन सफल भएको दाबी गरे ।