close

टाटा मोटर्स बन्यो सबैभन्दा बढी गाडी बिक्री गर्ने दोस्रो कम्पनी

टाटा मोटर्स बन्यो सबैभन्दा बढी गाडी बिक्री गर्ने दोस्रो कम्पनी

Trulli
ADVERTISEMENT

काठमाडौं–टाटा मोटर्स भारतीय बजारमा सबैभन्दा बढी यात्रुवाहक गाडी बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ । यसअघि हुन्डाईले बजारमा टाटाको तुलनामा बढी गाडी बिक्री गरिरहेको थियो । सन् २०२१ को डिसेम्बरसम्मको तथ्यांकअनुसार हुन्डाईको बिक्रीलाई उछिन्दै टाटा मोटर्स दोस्रो स्थानमा परेको हो।


यसबाहेक टाटाले सन् २०२१ को डिसेम्बर महिनामा मात्रै मासिक दरमा सबैभन्दा बढी गाडी बिक्री गरेको छ । त्यस्तै, कम्पनीले अक्टोबरदेखि डिसेम्बरबीचको त्रैमासिकमा समेत धेरै गाडी बिक्री गरेको छ । सन् २०२१ को सुरुआतदेखि अन्तिमसम्मको बिक्री आँकडाअनुसार वर्षभरिमै सबैभन्दा बढी गाडी बिक्री गरेको हो ।


तथ्यांकअनुसार टाटा मोटर्सले डिसेम्बरमा मात्रै ३५ हजार ३ सय वटा गाडी बिक्री गरेको छ । दक्षिण कोरियाली कार उत्पादक कम्पनी हुन्डाईले डिसेम्बरमा जम्मा ३२ हजार ३ सय १२ वटा गाडी बिक्री गरेको छ । टाटा मोटर्सले अक्टोबरदेखि डिसेम्बरको त्रैमासिकमा ९९ हजार गाडी बिक्री गरेको छ भने सन् २०२१ को अन्तिम दिनसम्म जम्मा ३ लाख ३१ हजार वटा गाडी बिक्री गरेको छ । 


बजारमा सेमिकन्डक्टर अभावका कारण उत्पादनमा कमी देखिए पनि टाटा मोटर्सका प्यासेन्जर भेहिकल बिजनेस युनिटका अध्यक्ष सैलेश चन्द्रले कम्पनीको यात्रुवाहक सवारीको व्यवसायले त्रैमासिक अवधिमा कोसेढुंगा कायम गरेको बताए ।

 

‘टाटा मोटर्सले दशककै उच्च त्रैमासिक र मासिक बिक्री रेकर्ड बनाएको छ । गत आर्थिक वर्षको तुलनामा २०२१ मा कम्पनीको सेल्समा ठूलो परिवर्तन देखिएको छ,’ अध्यक्ष सैलेश चन्द्रले भने, ‘कम्पनीले सन् २०२१ मा कुल ३ लाख ३१ हजार १ सय ७८ वटा गाडी बिक्री गरेको छ । टाटाले यात्रुवाहक सवारीसाधनको व्यवसाय स्थापना सुरु गरेदेखिको यो अहिलेसम्मकै उच्च बिक्री तथ्यांक हो ।’


उनका अनुसार ‘न्यू फरेबर’ का मोडलका कारण पनि गाडी बिक्री र माग बढेको छ । टाटा मोटर्सले सन् २०२१ मा विद्युतीय गाडीको समेत बिक्री बढाएको छ । कम्पनीले २०२१ अन्तिमसम्म कुल २२ हजार ५ सय ५५ वटा विद्युतीय गाडी बिक्री गरेको छ । अघिल्लो आर्थिक वर्षको त्रैमासिकमा जम्मा १.८ प्रतिशत विद्युतीय गाडी बिक्री गरेको टाटा मोटर्सले यो वर्षको त्रैमासिकसम्म विद्युतीय गाडी बिक्री ५.६ प्रतिशतले बढाएको हो ।


कम्पनीका अनुसार यसले सन् २०२१ को डिसेम्बरमा पहिलो पटक मासिक २ हजार बढी विद्युतीय गाडी बिक्री गरेको हो । ‘बजारमा विद्युतीय नेक्सन र विद्युतीय टिगोरको माग बढ्दो छ । यसले विद्युतीय मोडलको बिक्रीमा तीव्रता आएको छ । समग्रमा विद्युतीय मोडलले राम्रो बजार पाएको छ,’ कम्पनीको प्यासेन्जर भेहिकल बिजनेस युनिटका अध्यक्ष सैलेश चन्द्रले भने, ‘तर भविष्यमा पनि सेमिकन्डक्टरको आपूर्ति अनिश्चितताका कारण उत्पादन एवं बिक्रीमा केही प्रभाव पर्ने सम्भावना छ । यसका लागि कोभिडको जोखिमलाई पनि नजिकबाट ट्रयाक गर्न आवश्यक छ । यद्यपि हामी व्यावसायिक योजनामा काम जारी राख्नेछौँ ।’