close

विलाप गर्दै प्रहरीकहाँ पुग्ने बलात्कार पीडितले किन फेर्छन् अदालतमा बयान ?

विलाप गर्दै प्रहरीकहाँ पुग्ने बलात्कार पीडितले किन फेर्छन् अदालतमा बयान ?

Trulli
तस्बिर साभार : आइएनएस-स्वतन्त्र समाचार
ADVERTISEMENT

चितवन । नारायणी नदीमा गत चैत ४ गते नुहाउन गएकी एक बालिकालाई ५८ वर्षका एक पुरुषले बलात्कार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय चितवनमा पर्‍यो ।

त्यही दिन ती बालिकासहित उनकी आमा जाहेरी दिन प्रहरी कार्यालय पुगेकी थिइन् । प्रहरी समक्ष उनीहरुले नारायणीको तीरमा पौडी खेलेर नाङ्गै नुहाउन लागेकी बालिकालाई देखेर भरतपुर ४ का ५८ वर्षीय नारायण खनाल कट्टु मात्रै लगाएर नारायणी नदी तिर गएको र मौका छोपेर बालिकालाई बलात्कार गरेको जाहेरी दिएका थिए ।

जाहेरी लगत्तै प्रहरीले आरोपित खनाललाई नियन्त्रणमा लियो । प्रहरीले संरक्षकको कागज गरायो । सोही दिन अस्पतालमा ७ वर्षीया बालिकाको स्वास्थ्य परीक्षण पनि भयो । बालिकाले पनि आफूलाई कसरी बलात्कार गरे भन्ने विवरण प्रहरीलाई सविस्तार बताएकी छन् ।

जाहेरी प्राप्त गरेपछि घटना मुचुल्का, साक्षी प्रमाणसहित प्रहरीले जिल्ला न्यायाधिवक्ता मार्फत बलात्कारको मुद्दाको अभियोगसहित जिल्ला अदालतमा पेस गर्‍यो । अदालतको फैसला नआउन्जेल खनाल पुर्पक्षको लागि थुनामा गए ।

अदालतमा मुद्दा प्रक्रिया अघि बढ्यो। सुनुवाइका क्रममा बालिका र उनकी आमालाई अदालतले बकपत्रको लागि झिकाए। अदालतमा भने पीडित बालिका र उनकी आमाले प्रहरीलाई बताएकोभन्दा ठ्याक्कै उल्टो विवरण दिए।

बालिकाले अदालतको बकपत्रमा भनिन्, 'पानीमा म डुबेको देखेर त्यो बुबा मलाई निकाल्न जानुभएको थियो । मलाई त्यो बुबाले केही गरेको छैन । मैले प्रहरी अङ्कलको अगाडि पनि त्यस्तो केही गरेको छैन भनेको थिएँ ।'

उनकी ३७ वर्षीया आमाले पनि, 'आफूले प्रहरीमा बलात्कार भएको भन्ने कुरै नगरेको र आफू पढ्न नजान्ने भएकोले प्रहरीले के लेखे थाहा नभएको । हस्ताक्षर गर भने अनुसार हस्ताक्षर मात्रै गरेको,' विवरण दिइन् ।

बालिका बलात्कार जस्तो संवेदनशील घटनामा आमाले नै बयान र घटना विवरण सुनाएपछि प्रहरी अनुसन्धानका आधारमा जिल्ला अदालत चितवनले गत साता सो घटनामा आमालाई नै कैद सजाय तोकेर फैसला गरिदिएको छ । जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले घटनामा दाबी प्रमाण नपुगेको र पीडितले बालिका बलात्कार जस्तो गम्भीर विषयमा झुट्टा विवरण दिएको भन्दै आमालाई नै १५ दिनको कारागारको फैसला सुनाएका थिए ।

किन फेरिन्छ बयान?

पछिल्लो समय चितवनमा बलात्कारको घटनामा पीडितले बयान फेरेर आरोपीले सफाइ पाउने क्रम बढ्दै गएको छ । तर, यसअघि आरोपितले सफाइ मात्रै पाउने गरेपनि यो पटक भने पीडित भनिएका पक्षलाई नै अदालतले झुटो विवरण दिएर प्रहरी र न्यायालयलाई कमजोर बनाउन खोजेको भन्दै कैद सजाय नै तोकेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनको तथ्याङ्क अनुसार चितवनमा भएका मध्ये बहुविवाह पछि सबैभन्दा बढी असफल हुने मुद्दा बलात्कारको हो । चालु आर्थिक वर्षको जेठ महिनासम्म जिल्ला अदालत चितवनमा चलिरहेको ९८ वटा बलात्कारका मुद्दामध्ये २६ वटा मुद्दामा आरोपीले सफाइ पाएका छन् ।

चितवनका जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीका अनुसार धेरैजसो बलात्कारका मुद्दामा पीडितले बयान फेरेका कारण मुद्दा कमजोर हुने गरेको छ । केही मुद्दामा प्रहरीले पनि बलियो अनुसन्धान गरेको देखिँदैन ।

तिनै मध्येको एउटा मुद्दा हो, गैँडाकोटको कालिका मेडिकल तथा टेक्निकल कलेजका सञ्चालक शिव काफ्लेले सोही कलेज पढ्ने छात्रालाई बलात्कार गरेको भनिएको घटना ।

वैशाख १९ गते चितवन प्रहरीमा उक्त कलेजमा पढ्ने १८ वर्ष मुनीको छात्रा आमासहित विलाप गर्दै जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । उनले आफूलाई काफ्लेले प्रयोगात्मक परीक्षामा फेल गराइदिने दबाब दिँदै चितवनका विभिन्न होटलमा लगेर जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिइन् ।

प्रहरीले उनको भनाइको भिडियो समेत बनायो । तर, पीडितकी संरक्षक आमा स्वयं भोलिपल्टै जाहेरी फिर्ता लिइदिनुस् भन्दै प्रहरी कार्यालय पुगिन् । पीडितकी आमा संरक्षकको कागज गर्न पनि प्रहरीमा गइनन् । प्रहरीले पनि संरक्षकको उपस्थिति बिनाकै मिसिल जिल्ला न्यायाधिवक्ताको कार्यालय पठाइदियो ।

वैशाख १९ गते परेको जाहेरी अदालतमा पेस भएको एक महिना नपुग्दै फैसला भयो । जसमा पीडित भनिएकी बालिकाले आफूमाथि कुनै किसिमको दुर्व्यवहार नगरिएको बकपत्र गरिन् । त्यसैलाई आधार मानेर दाबी प्रमाण नपुग्ने भन्दै अदालतले शिव काफ्लेलाई सफाइ दिएको थियो ।

सामान्यतया बालबालिकाले आफूमाथि भएको घटना ढाँट्दैन भन्ने मान्यता छ। तर, चितवनमा पछिल्ला बलात्कारका मुद्दामा संरक्षक मात्रै होइन १० वर्ष मुनिका बालिकाले पनि प्रहरी र अदालतमा फरक फरक बयान दिएका छन्।

भरतपुर महानगरपालिका २९ नम्बर वडामा कार्यरत सवइन्जिनियर जीवन पौडेलले ६ वर्षीया बालिकालाई बलात्कार गरेको भनी प्रहरीमा परेको उजुरीमा बालिका र उनकी आमाले नै प्रहरी र अदालतमा फरक फरक बयान दिए ।

इन्जिनियरकै घरमा डेरा गरी बस्ने बालिका र उनकी आमाले खेलाउने क्रममा पौडेलले बालिकालाई फकाएर उनको यौनाङ्गमा औँला घुसाएर बलात्कार गरेको जाहेरी दिएका थिए ।

प्रहरीले तत्कालै जाहेरी लिएर पीडित बालिका र उनकी आमा दुबैजनालाई चितवनकै सुरक्षित आवास गृहमा पठाएको थियो । उक्त आवास गृहकी सञ्चालक मञ्जु खाँणले पटक पटक बालिका र उनकी आमालाई भेट्नको लागि आरोपी पक्षका व्यक्तिहरूले दबाब दिएको पनि सार्वजनिक गरेकी थिइन् ।

तिनै बालिका र आमाले अदालतको बकपत्रका क्रममा बालिकामाथि कुनै किसिमको यौनजन्य क्रियाकलाप नै नभएको दाबी गरे । त्यही भनाइलाई आधार मानेर जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा रहेका जीवन पौडेललाई यही असार १६ गते सफाइ दिएको छ ।

चितवनमा यौन हिंसा प्रभावित बालबालिका पुनर्स्थापना गृह सञ्चालक मञ्जु खाँणका भन्छिन्, ‘अदालतमा बकपत्र ढिलो हुँदा पीडितलाई पैसाको प्रलोभनमा पारेर बयान फेर्ने अवस्था आइरहेको छ,’

यस्ता घटना न्याय सम्पादनमा रहेको छिद्रका कारण हुने गरेको छ । साथै उसले न्याय र कानुनका सम्बन्धमा एउटा गम्भीर अनुसन्धान गर्नु पर्ने दबाब समेत सिर्जना गरिरहेको छ । खाँण भने बलात्कार पीडितले न्यायिक प्रक्रियामा पाउने हैरानीलाई यो समस्याको मूल कारण मान्छिन् । पीडितले आफ्नो जीवन सुरक्षित गर्नको लागि न्याय भन्दा आर्थिक सुरक्षालाई प्रमुख मान्दा नै बलात्कारका धेरै घटनाका पीडितले अदालत पुग्दासम्म आफ्नो मानसिकता र भनाइ नै परिवर्तन गर्ने गरेको खाँणको धारणा छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार