close

वैदेशिक रोजगारीको कारुणिक पाटो : शंकाले लियो आचार्य दम्पतीको ज्यान (अपडेट)

वैदेशिक रोजगारीको कारुणिक पाटो : शंकाले लियो आचार्य दम्पतीको ज्यान (अपडेट)

Trulli
रुष्मा र कृष्ण आचार्य
ADVERTISEMENT

चितवन । वैदेशिक रोजगारी कतिपय जीवनमा समृद्धिको पाटो बनेको छ भने कतिपयका लागि निल्न न ओकल्न सक्ने विष बनेको छ । जसले गर्दा वैदेशिक रोजगारीका कारण कतिपय जोडीले कारुणिक अन्त्य व्यहोर्नु परेको छ।

केही गत असार ३ गते वैदेशिक रोजगारीबाट फर्किएका पति कृष्णप्रसाद आचार्यको यातनाबाट आजित चितवनको भरतपुर महानगरपालिका १० की रुष्मा आचार्य जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका सेलमा हिंसामा परेँ भन्दै पुगेकी थिइन्।

मौखिक रुपमा न्याय पाउँ भन्दै पुगेकी ३३ वर्षकी रुष्माले आफ्ना ४३ वर्षीय पति कृष्णप्रसादले विदेशबाट फर्किएपछि अन्य व्यक्तिसँग सम्बन्ध रहेको भन्दै कुटपिट तथा गाली बेइज्जती गरेकोले घर बस्न नसक्ने जनाउ प्रहरी समक्ष दिएकी थिइन् ।

रुष्माले चितवन प्रहरीमा दिएको उजुरीमा कृष्णले घरायसी खर्च समेत नदिएर चरित्रमाथि औँला उठाएका थिए । घरेलु हिंसा अन्तर्गत जाहेरी दिएपछि प्रहरीले पहिलो चरणमा रुष्माको माइती पक्ष तथा कृष्णको परिवारलाई राखेर छलफल गरायो। उनीहरूले छलफलमा तीन फ्ल्याट रहेकोले घरमा रुष्मा र कृष्ण अलग अलग फ्ल्याटमा बस्ने गरी सहमति गराइदिए। बाँकी छलफल असार १७ गते गर्नेगरी दुवै जना घर फर्किए।

असार ३ गते कागजमा सहीछाप गरेर फर्किएपछि पनि पतिको कुटपिट नरोकिएको भन्दै १७ गते अगाडि नै रुष्मा फेरि प्रहरीमा पुगिन्। छलफल गरेर घर फर्किएका यी दुवै जना १७ गते पनि प्रहरीमा उपस्थित भए। तर, रुष्माको बुबाको समय नमिलेको कारण असारकै ३१ गते आउनु भनेर प्रहरीले फर्काइदियो।

असारको ३१ गते पनि जिल्ला प्रहरी कार्यालय चितवनमा रुष्माका परिवार र कृष्णका परिवार जम्मा भए। त्यो दिन आउँदा दुवै जना एक अर्कासँग एकसाथ बस्न नसक्ने निष्कर्षमा पुगीसकेका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख पूजा कार्कीले दुवै जना सँगै बस्न भन्दा सम्बन्ध विच्छेद नै गरेर बस्नेमा सहमत भएको बताउँछिन्।

असार ३१ गतेको छलफलमा पनि प्रहरीले एउटा कागज गरायो। रुष्मा र कृष्णले हस्ताक्षर गरेको उक्त कागजमा विदेशबाट फर्किएपछि कृष्णले गरेको कुटपिट र बेइज्जतीका कारण सँगै बस्नै नसकिने रुष्माले बताएको र कृष्ण पनि त्यो कुरामा सहमत भएको उल्लेख गरिएको छ। प्रहरीमा मिल्न नसक्ने भनेपछि दुवै जना आफूसँग भएको जेथा भाग लगाएर सम्बन्ध विच्छेद गर्न सहमत भएका थिए।

कृष्ण १५ वर्षभन्दा लामो समयदेखि वैदेशिक रोजगारीमा थिए। रुष्मा तोरीखेतमा रहेको एक प्राथमिक विद्यालयमा पढाउँथिन्। एक स्थानीय भन्छन्, 'उनीहरू बीचमा नराम्रो हामीले कहिल्यै थाहा पाएनौँ। तर, वैदेशिक रोजगारीको कारणले लामो समय छुट्टाछुट्टै रहँदा एकअर्काबीचमा फाटो आएको हुनसक्छ।'

हुन पनि जेठको १९ गते मात्रै कृष्ण नेपाल फर्किएका थिए। वैदेशिक रोजगारीको सिलसिलामा कृष्णको श्रवणशक्ति कमजोर भएको थियो। केही कुरा ध्यान दिएर मात्रै सुन्न सक्ने वा कानमा मेसिन लगाएर मात्रै प्रस्ट सुन्न सक्ने भएका थिए।

प्रहरीको महिला सेल प्रमुख कार्की भन्छिन्, “आफू कमजोर भएकोले पनि कृष्णले श्रीमती रुष्मामाथि शंका गरेको हो कि भन्ने अनुमान लगाएका थियौँ। उनी मेसिनको सहाराले मात्र सुन्न सक्थे।”

अदालतमा जाने बेहोराको सहमतिपछि प्रहरीले उनीहरूलाई सोही व्यहोराको कागज गराएको थियो। प्रहरी पनि आचार्य दम्पती सम्बन्ध विच्छेदको प्रक्रियामा गयो भन्ने ठानेर बसेका थिए।

तर, आइतबार राति साढे १० बजे एक्कासि कृष्णले रुष्माको हत्या गरेको खबरले प्रहरीलाई पनि झस्कायो। कृष्णको घरमा आमा बट्टाइदेवी आचार्य र उनीहरूका १२ वर्षीया छोरी मात्र थिइन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि आचार्यका अनुसार आमा बट्टाइदेवी पनि त्यसबेला घरमा थिइनन् । छोरी भने बाबुले आमालाई खुकुरी प्रहार गरेपछि रुँदै सडकमा गुहार माग्न निस्किएकी थिइन्।

कृष्णले रुष्माको हत्या मात्रै गरेनन्। श्रीमतीको हत्यापछि आफै पनि घरको तीनतला माथिबाट हामफाले। चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि आचार्य भन्छन्, ‘कृष्ण भागेको भन्दा पनि घटना हेर्दा श्रीमतीको हत्या पछि आत्महत्या गर्ने उद्देश्यले नै तीन तला माथिबाट हामफालेको देखिन्छ।’

यद्यपि घटनाको पूरा अनुसन्धान हुन बाँकी नै छ। अहिले दुवैको शव भरतपुर अस्पतालको शव गृहमा छ।