close

मिर्चैया तोडफोड : आरोपितलाई राजनीतिक प्रशय

मिर्चैया तोडफोड : आरोपितलाई राजनीतिक प्रशय

Trulli
ADVERTISEMENT

सिराहा - मिर्चैया नगरपालिकामा तोडफोड गर्ने विरुद्ध मुद्दा दर्ता भए पनि अझै छानबिन हुन सकेको छैन । नगरपालिकाका नगरप्रमुख श्रवणकुमार यादवले सो विषयबारे छानबिनका लागि मुद्दा दर्ता गरेका थिए  ।

मुद्दा दर्ता गरेपछि घटनाबारे छानबिन नगरी राजनीतिक दलले संयुक्त रुपमा विज्ञप्ती जारी धर्ना दिँदै आएको उनले पालिकाखबरलाई सुनाए । राजनीतिक आडको कारण घटनमा संलग्न रहेका व्यक्तिलाई संरक्षण दिएको उनले आरोप लगाएका छन् । 

सो घटनाबारे छानबिन नगर्नको लागि केही राजनीतिक दलले अनुरोधसमेत गरेको उनको भनाइ छ ।  ‘पालिकामा भएको तोडफोडको विषयमा मुद्दा दर्ता भयो । प्रहरीले उनीहरुलाई पक्राउ गर्न खोज्दा राजनीतिक दलको समूह बनाएर विज्ञप्ती जारी गरेर पक्राउ नगर्न थानामा धर्ना राखेका छन्,’ उनले भने । 

पालिकामा भएको घटनाबारे छानबिन नहुँदा कानूनी राज्य नै नभएको महसुस गरेको उनले सुनाए । 'सबै एकतर्फी भएका छन् । छानबिन नहुँदा कानूनी राज्य नै छैन जस्तो भएको छ,' उनले भने । 

घटना भएसँगै पालिकाको कर्मचारीहरु डराएर स्थानीयलाई सेवा दिँदै आएको उनको भनाइ छ । तर घटनामा संलग्न व्यक्तिहरु खुल्ला रुपमा पालिका वरिपरि घुमिरहेको उनले सुनाए । 

उनले भने, ‘उनीहरु आफैँ तोडफोड गर्ने, मुद्दा लागेपछि फेरी आन्दोलन गर्ने, मुद्दा लागेको मान्छे वरीपरि घुम्ने गरेका छन् ।’

प्रहरीले सूचना पाए पनि आरोपितलाई पक्राउ गर्न नसकेको उनको भनाइ छ । केही पक्राउमा परे पनि प्रहरीलाई दबाब दिएर छोड्न लगाउने गरेको उनले सुनाए ।

आइतबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्रीलाई भेटेर घटनाबारे कुराकानी गरेको उनले सुनाए । गृह मन्त्रालयको सचिवाललाई पनि सम्पूर्ण जानकारी दिएको उनले बताए । 

सानो विषयमा लिएर हुल जम्मा गरी योजनाबद्ध रुपमा पालिकामा क्षति पु¥याएको उनको आरोप छ । गत आइतबार पालिकामा भएको तोडफोडबाट करिब ३६ लाख रुपैयाँको क्षति भएको उनले सुनाए ।