close

सप्तकोसी बाढी : ३४ वर्षपछि धार परिवर्तन, हजारौंँ विस्थापितको बिचल्ली

सप्तकोसी बाढी : ३४ वर्षपछि धार परिवर्तन, हजारौंँ विस्थापितको बिचल्ली

Trulli
ADVERTISEMENT

उदयपुर । बेलका नगरपालिका-८ को डुम्रेमा कोसी नदीको बाढी पसेको छ । यसले गर्दा नगरपालिकाको वडा नम्बर १, २, ३ र ९ उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ५० मिटर बाँध नदीले कटान गर्दा जोखिममा बढेको हो । 

नगरपालिकाले कटान क्षेत्रमा विगत २ सातादेखि बाढी रोक्ने प्रयास गरेको थियो । यद्यपि, पानीको बहाव बढेसँगै बाढीले अग्लो डिललाई फुटाउँदा बेलका नगरपालिकाका दर्जनौँ बस्ती र हजारौँ परिवार जोखिममा परेका हुन् । बुधबार बिहान ४ बजेदेखि नदी डुम्रीबोटबाट पश्चिमतर्फ कटान गर्दै सिसौली टप्पु -चिलिया बस्तीतर्फ पसेको बेलका नगरपालिकाले जनाएको छ । 

बेलका नगरपालिकाका मेयर अशोक कार्कीले पालिकाखबरसँग भने, 'कोसीको बहाव बढिरहेकाले हामी सम्भावित जोखिमका बारेमा सचेत थियौँ । त्यहीअनुसार स्थानीय स्रोत साधन प्रयोग गरेर बाँध बाँध्ने काम गरिरहेकै थिइयो तर सकेनौँ । लाहुरेकोट भन्ने स्थानबाट कोसीको भंगालो छिर्‍यो । २०४५ सालमा कोसी नदी त्यहीँबाट बगिरहेको थियो, ४५ सालमा धार फेरेर पूर्वतिर गयो, अहिले फेरि ठ्याक्कै पश्चिम फर्किएको छ ।'

उनका अनुसार अनुसार बाढीले बेलकाका करिब १० हजार घर डुबानको जोखिममा छ भने करिब २३ सय घरपरिवार डुबानमा परेका छन् । अहिले प्रहरी, सेना र सशस्त्र प्रहरीको सक्रिययतामा स्थानीयलाई सुरक्षित स्थानमा लैजान थालिएको उनले बताए । सोमबार बिहानै बेलका नगरपालिकाले बस्ती छाड्न माइकिङ गरेको थियो । मानवीय क्षति नहोस् भनेर  नगरपालिकाले माइकिङ गरेको हो । 

सप्तकोसीले ३३ वर्षपछि धार परिवर्तन गर्दा सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलङ्का टापु, भागलपुर र रामनगरका स्थानीय प्रभावित भएका हुन् । उद्धार टोलीले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लैजान सहयोग गरेका छन् । अहिले प्रभावित क्षेत्रका नागरिकहरू आफ्ना लत्ता कपडा लिएर सुरक्षित स्थानतिर लागेका छन् ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आकस्मिक रूपमा जिल्ला विपद व्यवस्थापन समितिको बैठक बोलाएका छन् । उनले उद्धार, राहत तथा व्यवस्थापनका लागि आकस्मिक रूपमा बैठक बसेको बताए । स्थलगत अवलोकन गर्न लागेको उनले बताए । 

बाढीबाट प्रभावितहरूको स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । अहिले नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

गृहमन्त्री खाँणले कटानबाट प्रभावित बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग समेत छलफल गरेका छन् । मन्त्री डा खड्काको गृहजिल्ला उदयपुर भएकाले उनीसँग छलफल गरेका हुन् । 

गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश नं १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरी तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिएका हुन् । 

मन्त्री खाँणले त्यसका लागि के–के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउनसमेत निर्देशन दिएका हुन् । गृहसचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिए । कटानबाट सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचका बासिन्दा प्रभावित छन् ।   

कटानलाई रोकेर पनि त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरण आवश्यक रहेको गृहमन्त्रलयले जनाएको छ । केही दिनअघि पनि सप्तकोसीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको स्थानीय सुरक्षा अधिकारीले बताएका छन् ।