close

बुटवल उपमहानगरले बिटिआईमा इन्जिनियरिङ विषय पढाउने

बुटवल उपमहानगरले बिटिआईमा इन्जिनियरिङ विषय पढाउने

Trulli
ADVERTISEMENT

रूपन्देही- बुटवल उपमहानगरले बुटवल टेक्निकल इन्स्टिच्युट (बिटिआई) को स्तरोन्नति गर्दै इन्जिनियरिङका विभिन्न विषयमा उच्च तहका कक्षासमेत सञ्चालन गर्ने तयारी गरेको छ । 

 

२०२० मा स्थापना भएको बिटिआई उपमहानगर मातहत रहेको र प्राविधिक विषयमा व्यावहारिक विषय पढाउने यस क्षेत्रकै पुरानो संस्था हो । यसलाई स्तरोन्नति गरी इन्जिनियरिङ विषयका विभिन्न तहका कक्षा सञ्चालन गर्न उपमहानगरले चासो देखाएको हो । 

 

प्राविधिक तथा सीपमूलक शिक्षालाई नीति तथा कार्यक्रममै समावेश गरेर प्राथमिकतामा राखेको बुटवलले बिटिआईमै प्राविधिक शिक्षाको क्याम्पस सञ्चालन गर्न आवश्यक प्रक्रिया सुरु गरेको छ ।

 

बुटवललाई शैक्षिक क्षेत्रको हबको रूपमा विकास गरेर इन्जिनियरिङ कलेज स्थापना गरी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने कार्यक्रमलाई व्यावहारिक बनाउन खोजिएको उपमहानगर प्रमुख शिवराज सुवेदीले बताए ।


बुटवल टेक्निकल इन्स्टिच्युटको पुनर्संरचना गर्दै संघ, प्रदेश तथा विकास साझेदारको सहकार्यमा प्राविधिक शिक्षालय सञ्चालन गरिने उनले जानकारी दिए । 

 

व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षाको खाँचो बढ्दै गएका बेला उपमहानगरले सोही विषयको आधारभूत कक्षा सञ्चालन गर्ने संस्थालाई नै स्तरोन्नति गर्न पहल थालेको छ । 


अहिलेको शिक्षा प्रणाली परिमार्जन गरी प्राविधिक विषयलाई अनिवार्य गर्न सकिए मुलुकमा प्राविधिक जनशक्ति उत्पादन बढ्नुका साथै युवाशक्ति विदेश पलायन हुने क्रम पनि न्यूनीकरण हुने उनको विश्वास छ ।  बिटिआईमा अहिले २ वर्षे ओभरसियर र ४ वर्षे सब-ओभरसियरको पढाइ हुँदै आएको छ । 

 

लुम्बिनी बौद्ध विश्वविद्यालयसँग परामर्श

प्राविधिक विषयमा उच्च तहको पठनपाठनका लागि उपमहानगरले विश्वविद्यालयसँग सम्बन्धन लिने तयारी गरेको छ । लुम्बिनीमै केन्द्रीय कार्यालय रहेको उक्त विश्वविद्यालयले इन्जिनियरिङ विषयका लागि सम्बन्धन दिनसक्ने व्यवस्था छ । यद्यपि सम्बन्धन दिने विषयमा तत्काल निर्णय भने नहुने विश्वविद्यालयका रजिष्ट्रार डा तिलक आचार्यले बताए । 


इन्जिनियरिङ विषयमा परामर्श गर्न उपमहानगरले लुम्बिनी बौद्ध विश्वविद्यालयका अधिकारीसँग परामर्श गरेको थियो ।  उपमहानगर प्रमुख सुवेदी, उपपप्रमुख गुमादेवी आचार्य, संविधानसभा सदस्य नेत्र पन्थी, बिटिआई सञ्चालक सदस्य तथा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहरा, मेकानिकल इन्जिनियर मनोज भुसाललगायतको टोलीले विश्वविद्यालयको केन्द्रीय कार्यालयमै पुगेर परामर्श गरेको हो । 


छलफलमा विश्वविद्यालयका रजिस्ट्रार डा.तिलक आचार्य, अनुसन्धान केन्द्रका निर्देशक प्राडा गितु गिरी, अन्तर्राष्ट्रिय समन्वय शाखा संयोजक डा. सञ्जीव हुमागाईं, निमित्त क्याम्पस प्रमुख निरबहादुर गुरुङलगायत सहभागी थिए ।

 

बिटिआईमा अहिले २ वर्षे ओभरसियर र ४ वर्षे सब–ओभरसियरको पढाइ हुँदै आएको छ । यसलाई स्तरोन्नति गर्दै ४ वर्षे स्नातक र २ वर्षे स्नातकोत्तर सञ्चालनका लागि उपमहानगर प्रमुख सुवेदीको नेतृत्वमा विश्वविद्यालयसँग परामर्श गरिएको हो । 

 

बुटवल उपमहानगरसँग सहकार्य हुन्छ: रजिस्ट्रार

विश्वविद्यालयका रजिस्ट्रार डा.तिलक आचार्यले बुटवल उपमहानगरले समयसापेक्ष र महत्त्वपूर्ण प्रस्ताव ल्याएको भन्दै विश्वविद्यालयमा सम्बन्धित अधिकारीसँग छलफल गरिने बताए ।


तत्काल सम्बन्धनको विषयभन्दा पनि सहकार्यमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने र छिट्टै काम अगाडि बढाइने जानकारी दिए ।


बिटिआईमार्फत सयौँ उद्योग र प्राविधिक जनशक्ति उत्पादन

तालिमको माध्यमबाट दक्ष जनशक्ति तयार पार्ने तथा नेपालको औद्योगिक र आर्थिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले बिटिआईले प्राविधिक विषयमा आधारभूत कक्षा सञ्चालन गर्दै आएको छ । 


संघीय मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक/निजी साझेदारी (पिपिपी) मोडलमा कम्पनी ऐन, २०६३ का अनुसार नाफा वितरण नगर्ने कम्पनीको रूपमा बुटवल उपमहानगर, संघीय अर्थ तथा उद्योग मन्त्रालयसमेतको प्रतिनिधित्वमा बिटिआईलाई थप व्यवस्थित बनाउने काम सुरु भएको छ ।

 

बिटिआईले हालसम्म नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड, बुटवल प्लाइउड फ्याक्ट्री, बुटवल उड इन्डस्ट्रिज, गोबर ग्यास कम्पनी, बुटवल इन्जिनियरिङ वक्र्स, डिसिएस, हिमाल हाइड्रो, बुटवल पावर कम्पनीजस्ता उद्योग स्थापनामा सहभागी भएको छ ।


बिटिआईबाट उत्पादित जनशक्तिले सयौं उद्योगको स्थापना र सञ्चालनमा सहयोग पु¥याउँदै आएका छन् । यीमध्ये कतिपय संस्था नेपाल सरकारलाई हस्तान्तरणसमेत भइसकेको अवस्था छ । 

 

बिटिआईले तालिम लिएकाको व्यावहारिक र प्रयोगात्मक कक्षाका लागि यस क्षेत्रका विभिन्न ४५ वटा उद्योगसँग सहकार्य गरिरहेको उक्त संस्थाका कार्यकारी निर्देशक पीएल श्रेष्ठले बताए । 

 

२ वर्षे ओभरसियर र ४ वर्षे सब-ओभरसियरका कक्षामा गरी ३ सय विद्यार्थीले पठनपाठन गर्दै आएको उपनिर्देशक ई.पन्थीले जानकारी दिए ।