close

पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र कान्तिपुर सिटी कलेजबीच छात्रवृत्ति दिने सम्झौता

पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र कान्तिपुर सिटी कलेजबीच छात्रवृत्ति दिने सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं– आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्दा कान्तिपुर सिटी कलेजमा छात्रवृत्ति पाइने भएको छ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिसँगको सहकार्यमा कलेजले छात्रवृत्ति दिने भएको हो । 

 

महासङ्घको प्रतिष्ठान प्रदेश समितिले गरेको अनुरोधलाई स्वीकार गर्दै कलेजले पाँच विद्यार्थीलाई सहुलियत दिने निर्णय गरेको छ । यस विषयमा प्रतिष्ठान समिति र कलेजबीच सोमबार औपचारिक सम्झौता भएको छ । कलेजका कार्यक्रम संयोजक राजीव तिमिल्सिना र महासङ्घका अध्यक्ष बालकृष्ण अधिकारीले सम्झौतापत्रमा हस्तारक्षर गरे । सम्झौताअनुसार यस्तो छात्रवृत्ति तीन वर्षसम्म लागू हुनेछ । 

 

सम्झौताअनुसार पत्रकार महासङ्घको प्रतिष्ठान प्रदेश समितिको सिफारिसमा कलेजको सम्पूर्ण अध्ययन शुल्कको रकम र पूर्वाञ्चल विश्वविद्यालयमा लाग्ने सम्पूर्ण शुल्कको रकममा तीन जनाले ६५ प्रतिशत र दुई जनाले ५० प्रतिशत छुट पाउने महासङ्घका महासचिव रामकुमार शाहीले बताए । उनका अनुसार अब छिट्टै प्रदेश समितिको बैठकमार्फत कार्यविधि तय गरेर आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गर्न चाहने प्रतिष्ठान आबद्ध पत्रकारबाट आवेदन माग गरिनेछ । आवेदन प्राप्त भएपछि आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार पत्रकारलाई अध्ययनका लागि कलेजमा सिफारिस गरिने महासचिव शाहीले बताए ।

 

सम्झौता आदानप्रदान कार्यक्रममा महासङ्घ प्रतिष्ठान प्रदेशका अध्यक्ष अधिकारीले आफू कान्तिपुर सिटी कलेजको पूर्वविद्यार्थी भएको स्मरण गरे । उनले आफूले अध्ययन गरेको कलेजसँग सहकार्य गरेर पत्रकारिता पढ्न चाहनेका लागि सहुलियतको व्यवस्था गर्न पाएको खुशी व्यक्त गरे । ‘यसले पत्रकारिता पढ्ने चाहना भएका तर आर्थिक अवस्था कमजोर भएर पढ्न नपाएका पत्रकारका लागि ठूलो सहयोग पुग्ने भन्ने विश्वास छ’, उनले भने, ‘आगामी दिनमा पत्रकारितासँग सम्बन्धित अन्य कामका लागि पनि केलजसँग समन्वय र सहकार्य हुनेछ भन्नेमा आशावादी छु ।’


 
कार्यक्रममा कलेजका निर्देशक मीना खत्रीले महासङ्घ प्रतिष्ठान प्रदेश समितिसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् । उनले आगामी दिनमा पनि विभिन्न कार्यक्रमका लागि प्रतिष्ठान प्रदेशसँग सहकार्य गर्न इच्छुक रहेको जानकारी दिए । कलेजका प्रिन्सिपल राजु कट्टेलले महासङ्घसँगको सहकार्यले सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे । उनले पत्रकारलाई आइसीटी तालिमका लागि पनि महासङ्घसँग सहकार्य गरेर अघि बढ्ने र महासङ्घ प्रतिष्ठान प्रदेशसँगको सहकार्य लामो समयसम्म होस् भन्ने चाहना रहेको जानकारी दिइन् ।

 

‘तपाईंहरुको कार्यकालमा भएको यो कामले इतिहास् रचोस् भन्ने शुभकामना दिन चाहन्छु’’, प्रिन्सिपल कट्टेलले भने । सम्झौता कार्यक्रममा महासङ्घ प्रतिष्ठान प्रदेश समितिका उपाध्यक्ष वीरेन्द्र ओली, कोषाध्यक्ष केशव बोहरा र सचिव नरेन्द्र मानन्धरसमेतको उपस्थिति रहेको थियो ।