close

हुम्लामा चिसो बढ्यो, खुल्ला चौरमा परीक्षा

हुम्लामा चिसो बढ्यो, खुल्ला चौरमा परीक्षा

Trulli
ADVERTISEMENT

सिमकोट– उच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको जनाइएको छ ।  चिसो बढेपछि यहाँका विद्यालयले  खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन्  । 

 

सात गाउँपालिका रहेको जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ । जिल्लामा तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र कठ्याङ्ग्रिने अवस्था आएको छ ।  खुला चौरका पारिलो घाममा विद्यार्थीको परीक्षा लिइरहेको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए ।

 

सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा थप चिसो अत्याधिक बढेको छ । खुला चौरमा परीक्षा दिइरहेको अदानचुलि गाउँपालिकास्थित सूर्योदय माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्र दीपक फडेराले बताए । 

 

उनले भने,   ‘हिमपात भएपछि विद्यालयको कक्षा कोठाभित्र चिसोले हात कठ्याङ्ग्रिएर कलम चलाउनसमेत कठिन हुने गरेको छ ।  खुल्ला चौरमा परीक्षा दिन बाध्य छौँ ।’ विद्यार्थीले यसवर्ष पनि कोरोनाले पूरै समय अध्ययन गर्न नपाएको र चिसोले परीक्षा दिन सकस भइरहेको जनाएका छन् । 

 

सिमकोट गाउँपालिकास्थित मानसरोवर नमूना माध्यमिक विद्यालयका छात्रा एञ्जीला रोकायाले घाममा आएर परीक्षा दिन थालेपछि लेख्न सजिलो भइरहेको बताइन् । विद्यार्थीले कक्षा कोठाभित्र चिसोले परीक्षा दिन समस्या भएको बताएपछि घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको विद्यालयले जनाएको छ । शिक्षक रेसमराज रोकायाले चौरमा परीक्षा सञ्चालन भइरहेको बताए ।