close

आठ महिनासम्म कामदारले पाएनन् ज्याला

आठ महिनासम्म कामदारले पाएनन् ज्याला

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुराको हिमाली गाउँपालिकाका स्थानीयले आईडिएस नेपालमा काम गरेबापतको ज्याला नपाएको गुनासो गरेका छन् । हिमाली गाउँपालिका वडा नम्बर ४ फैतीका स्थानीयले आईडिएस नेपालमा काम गरेको दैनिक ज्याला नपाएको गुनासो गरेका हुन् ।


काम सम्पन्न भएको ८ महिना पुग्दासम्म पनि रकम नपाएको वडा नम्बर ४ फैतीका स्थानीय छत्रबहादुर मल्लले गुनासो गरे । उनले गत चैतमा काम सम्पन्न भए पनि हालसम्म ज्याला पाउन नसकेको बताए ।


आफूलगायत २५ कामदारले प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले रकम पाउनुपर्ने भए पनि ८ महिनासम्म एक पैसा पनि उनको भनाइ छ । पालिकाले काम सम्पन्न भएलगत्तै रकम उपलब्ध गराउने भने पनि अहिलेसम्म नदिएको स्थानीयले बताए । पहिले २५ जनाले मात्र काम गर्ने र रकम पनि २५ जनाले मात्र पाउने भनिए पनि पछि पालिकाले सबै स्थानीयले काम गर्ने बताएको थियो । 


वडा नम्बर ४ का वडाध्यक्ष रमेश विकले भने कामदारले काम गरेबापतको रकम तत्काल पाउने बताएका छन् । आईडिएस नेपालबाट काम गराउने र गाउँपालिकाको सडक बोर्डबाट पैसा दिने सहमतिअनुसार काम भएको उनले जानकारी दिए । 

 

सडक बोर्डबाट रकम आउन ढिलाइ भएका कारण कामदारले पाउन नसकेको उनको भनाइ छ । कामदारको पैसा कहीं– कतै हिनामिना नभएको दाबी गर्दै वडाध्यक्ष विकले केही रकम खातामा भएको र बाँकी सडक बोर्डबाट आएपछि तत्काल वितरण गरिने बताए । ६ लाख रुपैयाँ ग्याविनको तिरेकाले पैसा अपुग हुँदा वितरणमा ढिलाइ भएको र आधा रकम बाँड्न खोज्दा कामदारले नमानेको उनको भनाइ छ ।