close

झिनियाँबाटै एक सिजनमा छ लाख आम्दानी

झिनियाँबाटै एक सिजनमा छ लाख आम्दानी

Trulli
ADVERTISEMENT

बाग्लुङ– हिन्दूहरूको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ नगरपालिका–२ स्थित मरेपिपल निवासी मीरा श्रेष्ठलाई भ्याइनभ्याई छ । मीरासँगै उनका श्रीमान् र छोराले दसैँ अघिदेखि रात दिन नभनेर झिनियाँसहित चिनी, फिनी, भेली र नमकिन बनाइरहेका छन् । 

 

तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि मीरासहित अन्य बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याई छ । बागलुङ बजारमा सर्वाधिक झिनियाँ मीराले नै उत्पादन गर्दै आएकी छिन् । उनले दसैँ अघिदेखिबाट चार लाख रुपैयाँको झिनियाँ र तयारी अन्य रोटी बिक्री गरिसकेको बताइन् । तीन घण्टामा सय दर्जन झिनियाँ उत्पादन गर्दै आएको मीराको भनाइ छ । 

‘पहिलेजस्तो नाफा त छैन तर सात÷आठ वर्षदेखि झिनियाँ बनाउँदै आएकी छु,’ उनले भनिन्, ‘एकै सिजनमा आठ लाख रुपैयाँसम्म कारोबार गरेको थिएँ । पछिल्ला वर्षमा झिनियाँको व्यापार घटेर अहिले सिजनमा छ लाख जति कारोबार हुने आशा छ ।’


नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरंगी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य चाडबाडमा पनि झिनियाँको माग बढ्न थालेको छ । बागलुङका उद्यमीले दसैँ तिहारलाई लक्षित गरी दुई महिना अगाडिदेखि नै झिनियाँ रोटी बनाउँछन् । मीराले बागलुङ बजारमा मात्रै आफूजस्ता दर्जनौँ महिला झिनियाँ रोटी बनाएर आयआर्जन गर्दै आएको बताइन् ।


अहिले आधुनिक उपकरणको सहायताले ठूलो मात्रामा झिनियाँ उत्पादन गर्न सकिन्छ । मीराले तीन वर्षदेखि एक लाख रुपैयाँको लागतमा झिनियाँ निर्माण गर्ने आधुनिक विद्युतीय उपकरणसमेत खरिद गरेकी छिन् । मीराले थोकमा मूल्यमा सोना चामललाई एक हजार ३ सय ७० रुपैयाँमा खरिद गर्छिन् । एक बोरा चामलबाट करिब दुई हजार ५ सयदेखि तीन हजारसम्म झिनियाँ उत्पादन गर्न सकिने उनले बताइन् । थोक मूल्यमा झिनियाँको एक दर्जनको सय रुपैयाँ र फुटकर १ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ । 

 

दसैँको अवधिमा सेतो रङको झिनियाँ बढी बिक्री हुने भए पनि तिहारको समयमा सात रङको झिनियाँको माग आउने गरेको छ । मीराले चिनी रोटी र फिनी रोटी ६० रुपैयाँ, भेली रोटी र नमकिन रोटीलाई ५० रुपैैयाँमा बिक्री गर्दै आएकी छिन् ।