close

त्रियुगा नगरसँग मुसहरले मागे जीविकोपार्जनको सीप

त्रियुगा नगरसँग मुसहरले मागे जीविकोपार्जनको सीप

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिकाभित्र बस्ने मुसहर समुदायले जीविकोपार्जनका लागि व्यावसायिक सीप उपलब्ध गराइदिन माग गरेका छन् । उनीहरूले पेसा परिवर्तन गरी शिक्षा, स्वास्थ्यलगायत जीविकोपार्जन सहज बनाउने उद्देश्यले नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा यस्तो माग राखेका हुन् ।


मुसहर समुदायका अगुवाले नगरप्रमुख बलदेव चौधरीसँग अगरबत्ती बनाउने, सिलाइ–कटाइ, दालमोठ, भुजिया बनाउने, तरकारी तथा पशुपालनसम्बन्धी तालिमको माग राखेको नगरप्रमुखका स्वकीय सचिव बिजली सदाले बताए । मुसहर समुदायले आयआर्जनमूलक सीपका साथै शिक्षा, स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम माग गरेका छन् ।

 

मुसहर समुदायका अगुवा मिश्रीलाल सदाका अनुसार ज्याला, मजदुरी र बनिबुतोको भरमा जीविकोपार्जन गरिए पनि अब त्यसरी परिवार पाल्न सकिँदैन । राजनीतिक, सामाजिक, आर्थिक सबै हिसाबले यो समुदाय पछि परेको छ । जमिनको स्वामित्वबाट वञ्चित, उद्यमदेखि टाढा रहेको यो समुदाय शिक्षा, स्वास्थ्यको पहुँचबाट पनि वञ्चित छ । ‘समुदायलाई बिहान–बेलुका के खाने, के लगाउने भएपछि विद्यालय जाने बालबालिकाले पनि बीचैमा पढाइ छाड्ने गरेका छन्’, उनले भने ।

 

मुसहर समुदायलाई आयआर्जनमूलक सीप प्रदान गरेर जीविकोपार्जन सहज बनाउने कार्यक्रम ल्याइने नगरप्रमुख चौधरीले प्रतिबद्धता जनाए । यो समुदायको समग्र विकास र जीवन पद्धति परिवर्तनका लागि प्रदेश सरकारसँग विशेष कार्यक्रम प्रस्ताव गरिएको उनले बताए । २ करोड रुपैयाँ बराबरको मुसहर समुदाय लक्षित कार्यक्रम स्वीकृत भए यो समुदायको सबै बस्तीमा आधुनिक घर निर्माण र आयआर्जन, शिक्षा, स्वास्थ्यको व्यवस्था गरिने नगरप्रमुख चौधरीको भनाइ छ ।

 


नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले यो समुदायलाई उद्यमशिलता सीप र प्रविधि निःशुल्क सहयोग गर्न आवश्यक रहेकामा जोड दिए । उनीहरूको परम्परागत सीपलाई परिवर्तन गरेर आयआर्जनमूलक सीपबाट जीविकोपार्जन सहज बनाउन सकिने उनको धारणा छ ।


जिल्लाको एक मात्र मुसहर समुदायका प्रतिनिधि वडा नम्बर १२ का वडा सदस्य किसनवती सदाले नगरपालिकाले सदा समुदायको हितमा कार्यक्रम अगाडि बढाएकामा खुसी व्यक्त गरिन् । नगरपालिकाको १६ वडामध्ये १०, १४, १५ र १६ बाहेक सबै वडामा मुसहर समुदायको बसोबास छ । नगरमा ५५८ घरधुरी र जनसंख्या २ हजार ५०९ छ ।