close

रोजगार मेला गर्दै रत्ननगर नगरपालिका

रोजगार मेला गर्दै रत्ननगर नगरपालिका

Trulli
ADVERTISEMENT

चितवन । रत्ननगर नगरपालिकाले रोजगार मेला गर्ने भएको छ । रोजगार दिने र रोजगारी खोज्नेबीच मिलन गराएर मेला गर्न लागिएको हो । आगामी चैत १० देखि १२ गतेसम्म वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुनेछ ।
 
अघिल्लो वर्ष भरतपुर महानगरपालिकाले पहिलो पटक रोजगार मेलाको आयोजना गरेको थियोे । आलोपालोरूपमा रोजगार मेला गर्ने गरी भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबीच सहमति भएअनुरुप सो नगरपालिकाले यस वर्ष मेलाको आयोजना गर्न लागेको हो ।

महानगरपालिका र नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी सहभागी बैठकले यस वर्ष रोजगार मेला रत्ननगरमा गर्ने निर्णय गरेको हो ।  बैठकमा रत्ननगरका नगरप्रमुख प्रह्लाद सापकोटा, उपप्रमुख यादवप्रसाद पाठक, भरतपुरका उपप्रमुख चित्रसेन अधिकारी, रत्ननगरका नगरशिक्षा अधिकारी बद्रीनारायण शर्मा, भरतपुरका नगरशिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल, रत्ननगरका विज्ञ सल्लाहकार रामहरि न्यौपाने लगायतको उपस्थिति थियो ।

रत्ननगरका नगर प्रमुख सापकोटाले जागिर खोज्ने र जागिर दिनेहरुका बीचमा भेटघाट गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको बताए । महानगरपालिका र नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको मेलामा कक्ष र प्रवेश निःशुल्क गरिने छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो ।

बागमती प्रदेशका १० पालिकामध्ये उक्त महानगरपालिका र  नगरपालिकामा यो कार्यक्रम सञ्चालित छ । अघिल्लो वर्ष भरतपुरमा भएको मेलामा १७ जनाले रोजगारी पाएको महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रम प्रभावकारी बनाएर रोजगारी दिलाउने कुरामा यो मेला फलदायी हुनेछ ।”