close

गाउँपालिकाबाटै श्रम स्वीकृति पाएपछि सेवाग्राहीलाई सहज

गाउँपालिकाबाटै श्रम स्वीकृति पाएपछि सेवाग्राहीलाई सहज

Trulli
ADVERTISEMENT

मोरङ  मिक्लाजुङ गाउँपालिकाले श्रम स्वीकृति दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको छ । २०७९ चैत १६ गते गरेको निर्णयबमोजिम स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्थालाई गाउँपालिकाले कार्यान्वयनमा ल्याएकाे हाे ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन स्थानीय तहको रोजगार सेवा केन्द्रबाट पाउने व्यवस्था गरिएको छ । यसका लागि अब विराटनगर र काठमाडौँ धाउनुपर्ने झन्झटको अन्त्य भएको छ । 

श्रम स्वीकृति लिने पहिलो सेवाग्राही मिक्लाजुङ गाउँपालिका–७ का केशव सिग्देल बनेका छन् । उहाँले खुसी व्यक्त गर्दै भने, 'यसअघि काठमाडौँ र विराटगर गएर श्रमसम्बन्धी स्वीकृति लिनुपर्दा झन्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो । अब गाउँपालिकाबाटै सेवा सुरु भएपछि सहज भएको छ ।'

मिक्लाजुङले वैदेशिक रोजगारीका लागि जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा यही वैशाख २ गतेदेखि प्रारम्भ गनेए सूचना २०७९ चैत २९ गते प्रकाशन गरेको थियो ।  

यसैगरी उर्लाबारी नगरपालिकाले पनि श्रम स्वीकृति दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याउने भएकाे छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारीप्रसाद घिमिरेका अनुसार पालिकाले व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा यही वैशाख २ गतेदेखि दिन थालेको हो । वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक  नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।