close

गत वर्षको तुलनामा थप १० जनालाई रोजगारी

गत वर्षको तुलनामा थप १० जनालाई रोजगारी

Trulli
ADVERTISEMENT

मोरङ– रतुवामाई नगरपालिकाले चालु आर्थिक वर्षमा ७५ जनालाई रोजगारी दिने भएको छ । नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ७५ जनालाई रोजगारी प्रदान गर्न लागेको हो । गत आर्थिक वर्षमा नगरपालिकाले ६५ जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी प्रदान गरेको थियो  । 

यस वर्षदेखि प्रधानमन्त्री रोजगारी कार्यक्रम पनि केही परिमार्जन भएर सञ्चालन गरिने नगरपालिकाका रोजगार संयोजक प्रदीप पराजुलीले बताए । ‘सुरुमा ४० जनालाई ५० दिने रोजगारी दिन्छौँ । रोजगारी दिएसँगै उहाँहरूलाई बाटो मर्मत, पम्पिङ तालिम प्रदान गछौँ । तालिम पाएर योग्य बनेपछि दोस्रो चरणमा ५० दिने फेरि रोजगार दिन्छौँ ।’ प्रधानमन्त्री रोजगारी कार्यक्रममा रोजगारीको साथसाथै सीप पनि दिइने उनले बताए ।

नगरपालिकाले स्थानीयको आत्मनिर्भर बनाउन सीपमुलक तालिम प्रदान गर्ने गरेको रोजगार संयोजक पराजुलीले बताए । उनको अनुसार गत आर्थिक वर्षमा नगरपालिकाले १२० जनालाई उद्यमशिलता तालिम प्रदान गरेको थियो । त्यसमध्ये गरिबी निवारणका लागि ९० जनालाई सीपमूलक तालिम प्रदान गरेको उनले बताए । 

उद्यमशिलताको लागि सिलाइकटाइ, व्याग बनाउने, डल बनाउने, व्युटिसियन तालिम प्रदान गरेको उनले बताए । उनीहरुलाई तालिम प्रदान गरिसकेपछि समूह बनाएर आवश्यकता अनुसारको मेशिन तथा सामाग्री वितरण गरिएको जानकारी दिए । उद्यमशिलता तालिमको कार्यक्रमलाई यस आर्थिक वर्षमा पनि नगरपालिकाले निरन्तरता दिएको छ । 

यस्तै रतुवामाई नगरपालिकाले पालिकावासीमा रोजगारी व्यवस्थित ढङ्गले सिर्जना गर्न रणनीति बनाउने भएको छ । ‘यस वर्ष पञ्चवर्षे रोजगार रणनीति तयार गर्दै छौँ । रणनीति तयार भएपछि अझ व्यवस्थित तरिकाले काम गछौँ,’ उनले भने । चालु आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकामा प्रधानमन्त्रि रोजगार कार्यक्रमका लागि ६० लाख र उद्यमशिलता विकास कार्यक्रमका लागि २२ लाख रुपैयाँ बजेट विनियोजन भएको उनले जानकारी दिए ।