close

तालिम लिएकाले योजना पेश नगर्दा सहुलियत ऋणबाट बञ्चित

तालिम लिएकाले योजना पेश नगर्दा सहुलियत ऋणबाट बञ्चित

Trulli
ADVERTISEMENT

सुनसरी– रामधुनी नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमी बनाउने भएकाे छ । नगरपालिकाले विदेशबाट फर्किएर उद्यमी बन्न चाहनेलाई तालिमसँगै सहयाेग गर्ने नीति लिँदै केही काम थालनी गरेकाे छ ।

नगरपालिकाले वैदेशिक राेजगारीबाट फर्किएका युवालाई दुना टपरी उत्पादनलगायत तालिम प्रदान गरेकाे हाे । तालिमपछि उनीहरुलाई नगरपालिकामा प्रस्तावना पेश गर्न सुझावसमेत दिएकाे थियाे ।

तर, तालिम प्रदान भएको तीन महिना बितिसक्दा पनि योजना लिएर पालिकामा काेही नआएकाे नगरपालिकाका रोजगार शाखा प्रमुख खगेन्द्र सुब्बा फोम्बोहांग बताउँछन् । उनका अनुसार पालिकाबाट गत साउनमा युवा तथा खेलकुद मन्त्रालयको  सहकार्यमा उद्यमशिलता सम्बन्धी ६ दिने तालिम प्रदान गरिएको थियो । तालिममा कसरी व्यावसायिक बन्ने, बजारीकरण कसरी गर्ने र व्यवसाय सञ्चालनको लागि योजना कसरी तयार गर्ने भन्ने विषयमा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सिकाइएको उनले पालिकाखबरलाई बताएका छन् । 

वैदेशिक रोजगारीबाट फर्किएका युवाको व्यवसायको योजना हेरेर पालिकाले चालु आर्थिक वर्षदेखि सहुलियतमा ऋण दिने निर्णय गरेको छ । युवाहरुको व्यवसाय सञ्चालनको लागि तयार गरेको फाइनल योजना पालिकामा पेश गरेपछि योजना हेरेर सहुलियतमा ऋणका लागि सिफारिस गर्ने उनले बताए । 

सहुलियतमा ऋण उपलब्ध गराउन चालु आर्थिक वर्षमा नगरपालिकाले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ । बैंकले नगरपालिकाको सिफारिसमा उद्यमी बन्न चाहनेलाई १० लाख रुपैयाँसम्म सहुलियतमा ऋण उपलब्ध गराउने रोजगार शाखा प्रमुख फोम्बोहांग बताउँछन् । 
‘तर अहिलेसम्म कोही पनि आफ्नो व्यवसायको फाइनल योजना लिएर आएका छैनन्,’ व्यवसाय सञ्चालनको लागि ऋण माग्न कोहि पनि नआएकाले सहुलियतमा ऋण उपलब्ध गराउने सम्झौता कार्यान्वयनमा आउन नसकेको उनले बताए । 

नगरपालिकाको रोजगार शाखाको गत आर्थिक वर्ष २०७९/८० को सर्वेक्षणअनुसार पालिकाभर वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु २ हजार ६३५ जना छन् । उनीहरुलाई पालिकामै स्थापित गर्ने उदेश्यले गत आर्थिक वर्षमा इलेक्ट्रिसियन तालिम प्रदान गरेको थियो । 

कार्तिक महिनादेखि वैदेशिक रोजगारीबाट फर्किएका र पालिकाभित्रै रहेका बेरोजगार स्थानीयलाई रोजगारी प्रदान गर्ने उदेश्यले रोजगार दाताको तथ्यांक सङ्कलनको काम सुरु गरेको उनले पालिकखबरलाई सुनाए ।  यस्तै चालु आवमा सफ्टवेयर हार्डवयर नेटवर्किङ टेक्निसियन सम्बन्धी १० महिने लेबल ३ को तालिम र फर्निचर सम्बन्धी १० महिने ओट कार्डिङ तालिम सञ्चालनको लागि छनौट गरेको उनले बताए ।  

नगरपालिकाबाट गत बैसाखदेखि वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति प्रदान गरिएको उनले बताए । त्यसयता नगरपालिकाबाट ३३ जना स्थानीयले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमध्ये खाडी मुलुकमा जाने धेरै रहेको रोजगार शाखा प्रमुख फोम्बोहांग बताउँछन् । उनको अनुसार खाडी मुलुकका साथै क्यानडा, जापान र माल्टामा रोजगारीको लागि श्रम स्वीकृति लिने गर्छन् । 

वैदेशिक रोजगारीबाट फर्किएका युवाको लागि बजेट न्यून

नगरपालिकाले रोजगार शाखाको लागि चालु आर्थिक वर्ष २०८०/८१ मा एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो रकम पनि पालिकामा सञ्चालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गर्ने कामदार तथा श्रमिकको लागि सुरक्षा सामाग्री वितरणमा खर्च गरिने शाखा प्रमुख फोम्बोहांग बताउँछन् ।

उनी भन्छन्, ‘म यहाँको शाखा अधिकृत भएको पाँच वर्ष भयो । सबैभन्दा धेरै बजेट आएको भनेको यस वर्ष मात्रै हो ।’ सो बजेट पनि कामदारको लागि पोशाक, टोपी लगायत सुरक्षा साधनको खरिदमा सकिने उनले बताए । 

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई व्यवसाय सञ्चालनका लागि सहुलियतमा ऋण दिनुबाहेक शाखाबाट अन्य सहयोग गर्न नसकिने उनले बताए । ‘हामी बजारीकरण र व्यवसाय सञ्चालनको लागि परामर्श दिन सक्छौँ तर बजेट नभएकाले आर्थिक सहयोग गर्नसक्ने अवस्था छैन,’ उनले भने ।