close

खोटेहाङमा विद्युत् विस्तार तीव्र

खोटेहाङमा विद्युत् विस्तार तीव्र

Trulli
ADVERTISEMENT

खोटाङ - जिल्लाको खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा केन्द्रीय विद्युत् विस्तार गरिएको छ ।

स्थानीय तह कार्यान्वयनमा आएसँगै विद्युत विस्तारको कामलाई तिव्रता दिएको गाउँपालिकाले बाप्लुखामा केन्द्रीय प्रसारण लाइनअन्तर्गतको विद्युत् विस्तार गरेको हो । आर्थिक वर्ष ०७५/७६ मा गाउँपालिकाले विनियोजन गरेको ७५ लाख र नेपाल विद्युत् प्राधिकरणले उपलव्ध गराएको १ करोड बराबरको विद्युतीय सामग्रीबाट बाप्लुखामा विद्युत विस्तार गरिएको हो ।

 

बाप्लुखामा आयोजित कार्यक्रममा आइतबार गाउँपालिका अध्यक्ष प्रदीप राईले विद्युत् सेवा उद्घाटन गरेका हुन् । गाउँपालिकाका अनुसार बाप्लुखाको सुम्लेखा र काम्दाखाका ८० घरमा विद्युत् पुगेको छ । बाप्लुखाका अन्य टोलमा पनि विद्युतीकरणको कामलाई तीव्रता दिइएको गाउँपालिका अध्यक्ष राईले बताए । विद्युत् उद्घाटनका क्रममा गाउँपालिका उपाध्यक्ष कविता राईलगायत बाप्लुखा पुगेका थिए । 

 

खोटेहाङले हाल विद्युत्को पहुँच पुग्न बाँकी ३ वडामा विद्युतीकरणको कामलाई तीव्रता दिएको छ । गाउँपालिका अध्यक्ष राईका अनुसार अव खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीलाई मात्र विद्युत्ले छुन बाँकी छ । यद्यपि लिकुवापोखरीको सीमासम्म मुख्य लाइन विस्तार भइसकेको छ । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा पनि मुख्य लाइनमा विद्युत् बलिसकेको छ । ९ वडामध्ये हालसम्म खोटेहाङ–४ बड्कादियाले, खोटेहाङ–५ चिप्रिङ, खोटेहाङ–६ इन्द्रेणीपोखरी, खोटेहाङ–७ खोटाङबजार, खोटेहाङ–८ सिमपानी र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा ९५ प्रतिशत उपभोक्ताको घरमा विद्युत् पुगिसकेको छ ।

 

आगामी आर्थिक वर्ष सबै वडामा विद्युत् विस्तारको कामलाई पूरा गरिने गाउँपालिका अध्यक्ष राईले बताए । विद्युत् विस्तारका लागि चालू आर्थिक वर्ष १ करोड विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।


‘हामी निर्वाचित भएका बेला खोटाङबजार, सिमपानी, लिच्कीराम्चे र चिप्रिङमा विद्युत्को मुख्य लाइन मात्र विस्तार भएको अवस्था थियो’, गाउँपालिका अध्यक्ष राईले भने, ‘अहिले ४ देखि ९ वडाका ९५ प्रतिशत घरमा विद्युत् पुगिसकेको छ । बाँकी रहेको लिकुवापोखरी, बाप्लुखा र सावाकटहरेमा विद्युतीकरणको कामलाई तीव्र बनाएका छौँ । आगामी आर्थिक वर्ष सबै वडामा विद्युत् पु-याउने हाम्रो लक्ष्य छ ।’