close

लमजुङको लप्सीबोट र दैलुङमा पहिलो पटक बल्यो बिजुली

लमजुङको लप्सीबोट र दैलुङमा पहिलो पटक बल्यो बिजुली

Trulli
ADVERTISEMENT

लमजुङ - लमजुङको दोर्दी गाउँपालिका वडा–७ फलेनीको लप्सीबोट र दैलुङ गाउँमा पहिलो पटक बिजुली बलेको छ । लप्सीबोटको १ सय घरधुरी र उपल्लो दैलुङको ३४ घरमा पहिलो पटक  बिजुली बलेको वडाध्यक्ष प्रेमबहादुर गुरुङले बताएका हुन् ।


लामो समय टुकी बत्ती र सोलारको भरमा जीवनयापन गर्दै आएका लप्सीबोट र उपल्लो दैलुङका स्थानीय गाउँमा बत्ती बलेपछि दंग छन् ।गाउँमा बिजुली जोड्न २ वर्षअघि पोल गाढिएको थियो । १ वर्षअघि तार टाँगिएको गाउँमा मंगलबार बिजुली बलेको स्थानीय यमकुमार गुरुङले बताए  ।


‘लामो समयको प्रतीक्षापछि गाउँमा बिजुली बल्दा स्थानीय खुसी भएका छन् । अब टुकी बत्तीबाट छुटकारा पाउने भयाै‌,’ गुरुङले भने ।सरकारको ९० प्रतिशत र स्थानीयको १० प्रतिशत लगानीमा विद्युतीकरण गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए  ।

 

उनका अनुसार विद्युतीकरणका लागि स्थानीयले घरैपिच्छे रकम उठाएका थिए । पहिलो चरणमा सरकारले ३ करोड ५३ लाख सहयोग गरेको थियो । स्थानीयले ३५ लाख रुपैयाँ उठाएका थिए । दोस्रो चरणमा सरकारले  करोड ७४ लाख बजेट पठाएको थियो । स्थानीयले २७ लाख रुपैयाँ संकलन गरेका थिए । 


बेंसीसहर नगरपालिका वडा–११ चितीबाट स्याउत हुँदै बन्सार, फलेनी, ढोडेनी क्षेत्रमा बिजुली पुर्‍याइएको थियो । बिजुली नपुगेको फलेनी क्षेत्रको लप्सीबोट र माथिल्लो दैलुङमा बिजुली बलेको हो ।फलेनी क्षेत्रकै सिङ्ली, रघु र नागी गाउँमा केही दिनपछि बिजुली बाल्ने तयारी छ । 


सिङ्लीमा १०, रघुमा ८ र नागीमा २५ घर छन् । ती गाउँमा बिजुली बाल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको वडाध्यक्ष गुरुङले जानकारी दिए । ०७० देखि मेमेपोरी विद्युत् सहकारी संस्थामार्फत काम हुँदै आएकामा पछिल्लो समय जनप्रतिनिधि निर्वाचित भएपछि विद्युतीकरणले गति लिएको थियो ।


दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले नागरिकलाई विद्युत् पहुँचमा ल्याउन घरदैलोमा विद्युतीकरण गरिएको बताए ।