close

बाढीले डुबायो प्राधिकरणको इनरुवा सब–स्टेसन 

बाढीले डुबायो प्राधिकरणको इनरुवा सब–स्टेसन 

Trulli
ADVERTISEMENT

काठमाडौं- अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सब–स्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सब–स्टेसनमा पस्दा ठूलो क्षति पुगेको हो ।


आगामी पुसभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ दुवै सब–स्टेसनको काम भइरहेको थियो । बाढीले सब–स्टेसनको कम्पाउन्ड वाल बगाएको छ । जडानका लागि राखिएका उपकरण डुबेका छन् । बाढीले केही उपकरण बगाएको र कार्यालय भवनसमेत डुबानमा परेको विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङले जानकारी दिए ।


‘अहिले सब–स्टेसनभित्र खोला बगिरहेकाले क्षति पुर्‍याइरहेको छ । सबस्टेसन तालमा परिणत भएको छ । जान सक्ने अवस्था छैन । त्यहाँ रहेका कर्मचारी र श्रमिकलाई सुरक्षाकर्मीको सहयोगमा डुंगामार्फत सुरक्षित स्थानमा सारिएको छ’, घिसिङले भने । 


४०० केभी र २२०/१३२/३३ केभी सब–स्टेसनका अधिकांश सिभिल संरचना निर्माण सम्पन्न भइसकेको छ । साथै, ट्रन्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरण निर्माण स्थलमा ल्याइसकिएको थियो । बाढीका कारण सबै डुवानमा परेकाले उपकरणमा क्षति पुगेको छ ।