close

सर्लाहीको नवलपुरमा बन्यो नयाँ सब–स्टेसन, विद्युत् आपूर्ति सहज हुने 

सर्लाहीको नवलपुरमा बन्यो नयाँ सब–स्टेसन, विद्युत् आपूर्ति सहज हुने 

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारको लगानीमा विद्युत् प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुरमा १३२/३३ केभीको सब–स्टेसन निर्माण गरेको छ । सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई विद्युत् उपलब्ध गराउन निर्माण गरिएको सब–स्टेसन शनिबारबाट सञ्चालनमा ल्याइएको छ । सब–स्टेसन शनिबार चार्ज गरिएको हो । 


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सब–स्टेसन सञ्चालनमा आएसँगै सर्लाहीको विद्युत् आपूर्ति विश्वसनीय हुने र प्राविधिक चुहावट घट्ने बताए । 

‘सर्लाहीमा अहिले ढल्केबर र चन्द्रनिगाहपुर सब–स्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत् आपूर्ति भइरहेको थियो । ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत् आपूर्तिमा समेत अवरोध हुँदै आएको थियो’, कार्यकारी निर्देशक घिसिङले भने, ‘अब नवलपुर सब–स्टेसनबाट सिधै विद्युत आपूर्ति हुने भएकाले लाइन छोटो हुँदा चुहावट घट्छ । विद्युत् आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बन्नेछ । सर्लाहीमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् दिन सकिनेछ ।’ 


पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सब–स्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट नवलपुर सब–स्टेसनमा विद्युत् आपूर्ति दिइनेछ । सब–स्टेसनमा १३२/३३ केभी, ६३ एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका दुई  ट्रान्सफर्मर राखिएको छ । यही सब–स्टेसनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३÷११ केभी वितरण सब–स्टेसनमा विद्युत् आपूर्ति दिइनेछ । 


सब–स्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष २०७४/७५ र मुख्य निर्माण आव २०७५/७६ मा सुरु गरिएको थियो । कोभिड–१९ महामारीका कारण उपकरण ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको सब–स्टेसन आयोजनाका प्रमुख निरञ्जन साहले बताए । सब–स्टेसन निर्माणको ठेक्का पावर टेक, भारत र वाइबा इन्फ्राटेक, नेपालको संयुक्त उपक्रम (जेभी) ले पाएको थियो ।