close

विद्युत्को आन्तरिक माग ह्वात्तै बढ्यो

विद्युत्को आन्तरिक माग ह्वात्तै बढ्यो

Trulli
ADVERTISEMENT

काठमाडौं–विद्युत् खपत बढाउन चालिएका कदम र जाडो बढेसँगै विद्युत्को आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्षको विद्युत् उच्च माग (पिक डिमान्ड) ३ सय मेगावाटको हाराहारी बढेको हो । 


आन्तरिक रूपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगलाई चाहिएजति विद्युत उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम भइरहेको छ । 


विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युत्बाट चल्ने घरायसी सामानको प्रयोगमा भएको वृद्धि, विद्युतबाट सञ्चालन हुने यातायातका साधनको वृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युतलगायतका कारणले दैनिक रूपमा खपत बढिरहेको छ । 

 

प्राधिकरणले कात्तिक अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्सीलाई ३० मेगावाट विद्युत उपलब्ध गराएकाले पनि माग बढेको हो ।  विद्युत् माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुवैमा बढिरहेको छ । उदाहरणका लागि २७ मंंसिरमा प्रणालीमा विद्युत्को उच्च माग १५३९ मेगावाट थियो । यो माग गत वर्षको सोही दिनको १२१७ मेगावाटको तुलनामा ३२२ मेगावाट बढी हो । 

 

यस आधारमा विद्युत्को पिक डिमान्ड गत वर्षको सोही दिनको तुलनामा २६.५ प्रतिशत वृद्धि भएको छ ।  २७ मंसिरको प्रणालीको पिक डिमान्ड पूर्तिका लागि प्राधिकरणका विद्युतगृहबाट ५४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका विद्युत्गृहबाट ५२९ मेगावाट, निजी क्षेत्रका विद्युत्गृहबाट ४२५ मेगावाट र भारतबाट २५ मेगावाट आयात गरिएको थियो । 

 

सोही दिन पिक समय पनि ४ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको थियो । विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकासहित आसपास क्षेत्रमा विद्युत् माग ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकाको विद्युत्को अधिकतम माग ९० मेगावाट हाराहारी वृद्धि भएको छ । 

 

गत वर्ष २९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको पिक डिमान्ड यो वर्ष ३८२ मेगावाट पुगेको छ । ऊर्जाको मागका आधारमा आधारमा २७ मंसिरमा विद्युत् खपत २ करोड ७२ लाख युनिट थियो । यो खपत गत वर्षको सोही दिनको २ करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो । 

ऊर्जाका आधारमा विद्युत खपत गत वर्षको तुलनामा २८.६५ प्रतिशत बढी हो ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको तुलनामा यो वर्ष ३० प्रतिशत हाराहारी पिक डिमान्ड बढ्नु ठूलो उपलब्धि भएको बताए । ‘घरायसी प्रयोजनका लागि इन्डक्सन चुल्हो तथा घरमा एयर कन्डिसनको प्रयोग बढिरहेको छ, विद्युतीय सवारी साधनको प्रयोग बढ्दा चार्जिङ स्टेसन विस्तार भइरहेको छ । औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत् उपलब्ध गराउने प्रयाससँगै लोडको माग बढिरहेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘विद्युत् माग अहिलेकै रूपमा वृद्धि भयो भने चालू आर्थिक वर्षको अन्त्यसम्ममा २ हजार मेगावाटको हाराहारी पुग्न सक्ने देखिएको छ ।’


घिसिङले उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराएर देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखी अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको जानकारी दिए ।

 

कार्यकारी निर्देशक घिसिङ आफैंले मुलुकभित्रका मुख्य औद्योगिक करिडोरको अनुगमन भ्रमण गरी उद्योगीलाई चाहिएजति विद्युत् लिन आग्रह गर्दै आएका छन् । प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ । 


दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँ पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने प्राधिकरणको योजना छ । प्राधिकरणले थप विद्युत् आवश्यक पर्ने उद्योगलाई परिमाण खुलाएर तत्काल आवेदन दिनसमेत आग्रह गरिरहेको छ । मुख्य रूपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाइएको छ ।