close

विद्युत् खपत बढाउने योजना : ४ महिनामा १५० मेगावाटको विद्युत् लोड स्वीकृत

विद्युत् खपत बढाउने योजना : ४ महिनामा १५० मेगावाटको विद्युत् लोड स्वीकृत

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ०७८÷७९ को पहिलो ४ महिनामा १० उद्योगलाई विद्युत आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरेको छ ।  ७ उद्योगलाई करिब १११ मेगावाट विद्युत् उपलब्ध गराउन ग्रिड प्रभाव अध्ययन गरिएको छ । साथै, ५ वटा उद्योगले माग गरेको करिब ९८.८ मेगावाटको जिआइएस प्रक्रियामा रहेको छ ।

 

लोड स्वीकृत, जिआइएस सम्पन्न र प्रक्रियामा रहेको मागका आधारमा उद्योगमा थप करिब ३६० मेगावाट विद्युत् खपत हुने देखिएको छ । थप विद्युत्को माग गर्नेमा अधिकांश स्टिल र सिमेन्ट उद्योग छन् ।  जिआइएसमार्फत लोड स्वीकृत गर्नुभन्दा पहिल उद्योग रहेको क्षेत्रमा रहेको प्रसारण तथा प्रणाली सञ्जालको क्षमताले मागबमोजिम विद्युत् उपलब्ध गराउन सकिने÷नसकिने अवस्थाको निक्र्योल हुने गरेको प्राधिकरणले बताएको छ । 

 

जिआइएस सकिएपछि लोड दिन सक्ने अवस्था भएमा प्राधिकरण र सम्बन्धित उद्योगबीच ग्रिड कनेक्सन सम्झौता भई लोड दिइने गरेको छ । आन्तरिक रूपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन उद्योगलाई चाहिएजति विद्युत उपलब्ध गराउने नीतिअनुसार प्राधिकरणले नयाँ तथा थप लोडका लागि आवेदन माग गरेको छ । 

 

लोड माग गर्ने ग्राहकलाई यथाशीघ्र लोड स्वीकृत गरी विद्युत सेवा उपलब्ध गराउन सयमसीमा सहितको प्रक्रिया निर्धारण गरिएको छ । ठूलो परिमाणमा विद्युत् माग गर्ने ग्राहकलाई ११, ३३, ६६ र १३२ केभी प्रसारण लाइनबाट लोड लिन नियमअनुसार गर्नु पर्ने जिआइएसलाई व्यवस्थित र शीघ्र गर्न समयसीम सहितको प्रक्रिया लागू गरिएको हो । 

 


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोड स्वीकृति भएका उद्योगमध्ये केहीले विद्युत् आपूर्ति लिएको र केही लिने प्रक्रियामा रहेको बताए ।अहिलेको माग देशमा उत्पादित विद्युत् स्वदेशमै खपत गर्ने कार्यक्रम उत्साहजनक रहेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे । ‘औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत् उपलब्ध गराउने प्रयाससँगै लोडको माग बढिरहेको छ, लोड स्वीकृति भएका उद्योगलाई प्रसारण तथा वितरण प्रणालीले धानेसम्म तत्कालै विद्युत उपलब्ध गराएका छौँ । केहीले लोड स्वीकृत गराएर आफ्ना संरचना बनाइरहेका छन्’, घिसिङले भने ।


त्यस्ता उद्योग सञ्चालनमा आउनु पहिले नै विद्युत् दिने गरी लाइन तथा सबस्टेसनको विस्तार र सुदृढीकरण गरिरहेको उनले बताए ।‘आफैंले प्रमुख उद्योगिक करिडोरमा सञ्चालित उद्योगे भ्रमण गरी त्यहाँको विद्युत् आपूर्ति अवस्था र आगामी दिनमा चाहिने लोडको जानकारी लिएको छु । योसँगै उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराएर देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखी अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको छ,’ उनले भने ।


प्राधिकरणको विद्युत् खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगहरूलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ । दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने प्राधिकरणको योजना छ । 


प्राधिकरणले थप विद्युत आवश्यक पर्ने उद्योगलाई परिमाण खुलाएर तत्काल आवेदन दिनसमेत आग्रह गरिरहेको छ । मुख्य रूपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाइएको छ ।