close

जाजरकोटबासीका पीडा : पोल गाडेको तीन वर्षसम्म बलेन बिजुली

जाजरकोटबासीका पीडा : पोल गाडेको तीन वर्षसम्म बलेन बिजुली

Trulli
ADVERTISEMENT

जाजरकोट–समयमै काम नभएपछि जाजरकोटबासीले पोल गाडेको तीन वर्षसम्म बिजुली बाल्न पाएका छैनन् । ठेकेदारले तोकिएको समयमा विद्युत् लाइन विस्तार र पोल गाड्ने काम नगर्दा ठूला योजनादेखि विद्युत्बाट सञ्चालन हुने विभिन्न काम अलपत्र परेका हुन् । विद्युतीकरण नहुँदा संघीय तथा प्रदेश सरकारको लगानीमा सञ्चालन हुने विभिन्न योजना पनि अलपत्र परेका छन् । ११ केभी प्रसारण लाइनको पोल गाडेको तीन वर्षसम्म पनि विद्युत् लाइन विस्तार नहुँदा यसबाट सञ्चालन हुने कार्यमा बाधा पुग्दै आएको छ । 

 


खलंगा–बाहुनथाना, पाँच काटिया हुँदै कुशे गाउँपालिकाका विभिन्न ठाउँमा लाइन विस्तारका लागि तीन वर्षदेखि काम नहुँदा विद्युत्बाट हुने काममा बाधा पुगेको हो । त्यस्तै, खलंगा हुँदै नलगाड नगरपालिका र बारेकोट गाउँपालिका जोड्ने मुख्य लाइन नलगाडको कालीमाटीभन्दा अगाडि बढ्न नसकेपछि अर्को समस्या थपिएको छ । लाइन विस्तारको जिम्मेवारी लिएका ठेकेदारले समयमा काम नगर्दा विकास निर्माणमा समेत बाधा पुगेको हो ।

 

विद्युतीकरण अभावमा २० लाख रुपैयाँमा स्थापना गर्न लागेको प्रिफ्याब प्रविधिको कोल्डस्टोर (शीतभण्डार) स्थापनामा चुनौती थपिएको छ । कृषि विकास कार्यालय जाजरकोटले फलफूललाई सुरक्षित बनाउन सहकारी संस्थाबाट गत भदौमा प्रस्ताव मागेको थियो । कार्यालयले मागेको मापदण्डमा फेज लाइन वा विद्युत् सञ्चालन हुने क्षेत्र भनी उल्लेख गरेपछि पहिलो पटकको प्रस्ताव अस्वीकृत भएका थिए । 

 

पुनः कार्यालयले सोही मापदण्ड राखेर ७ पुसमा दोस्रो पटक सूचना प्रकाशित गरेको छ । दोस्रो पटकको पनि फलफूल उत्पादन हुने क्षेत्रमा विद्युत् नपुगेकाले सफल नहुने हो कि भन्ने चिन्ता बढेको कुशे गाउँपालिकाका अगुवा किसान शक्तिबहादुर ओलीले बताए । ‘विद्युत् नभएको ठाउँमा शीतभण्डार सञ्चालन हुन सक्दैन’, कृषि विकास कार्यालयका प्रमुख रवीन धितालले भने, ‘पहिला पनि प्रस्ताव माग गरिएको रहेछ तर मापदण्ड नपुगेर काम हुन सकेन । फेरि पनि प्रस्ताव माग गरेका छौँ । मापदण्ड पुगे काम हुन्छ नत्र बजेट फिर्ता जान्छ ।’


त्यस्तै, अघिल्लो वर्ष दूध डेरी स्थापना गर्ने भन्दै पँचासे सहकारी संस्था नलगाड नगरपालिकाको कालीमटीले १६ लाख रुपैयाँमा खरिद गरेको उपकरण विद्युत् अभावमा सञ्चालन गर्न सकेको छैन । पशु अस्पताल तथा पशु सेवा कार्यालयको अनुदानमा उक्त उक्त उपकरण सहकारी संस्थाले खरिद गरेको थियो । 

 

दूध उत्पादनका लागि राम्रो क्षेत्र मानिएको नलगाडको लहँ, डाडाँगाउँलाई केन्द्रमा राखेर उक्त मेसिन जडान गरिए पनि कामविहीन भएको छ । सहकारीले आफ्नै लगानीमा जेनेरेटर खरिद गर्न समस्या भएको भन्दै अब केही दिनमा जसरी पनि उक्त मेसिन सञ्चालन गर्न पहल सुरु भएको प्रबन्धक किशोर रावलले बताए । 

 

जिल्लास्थित सरकारी कार्यालयको अनुदान सहयोगमा सञ्चालन हुने विभिन्न कार्यक्रम विद्युतीकरण अभावमा अलपत्र पर्ने गरेको छ । त्यस्तै, जिल्लाभरिका स्थानीय तहले समेत विभिन्न प्रविधिसँग जोडिएका किसानमैत्री कार्यक्रम सञ्चालन गर्न खोज्दा मापदण्ड नपुगेको भन्दै बजेट फिर्ता हुने गरेको गुनासो गरेका छन् । 

विद्युत् प्राधिकरणले निर्माण व्यवसायीलाई कारबाही गर्नुको सट्टा संरक्षण गर्दै जाँदा जाजरकोटमा अहिलेसम्म सबै ठाउँमा भइसक्ने विद्युतीकरण रोकिएको छ । जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्तिलाई फाइदा पुग्ने गरी ठेक्का दिँदा जिल्लाको विद्युतीकरणमा बाधा पुगेको सर्वसाधारणको गुनासो छ ।

 

शिवालय, जुनिचाँदे, नलगाड र बारेकोटमा लाइन विस्तारको ठेक्का लागेको चार वर्षपछि बल्ल काम गर्ने भन्दै दुई दिनअघि निर्माण व्यवसायी तेजविक्रम शाह र निर्माण व्यवसायी शान्तबहादुर बस्नेतले सामग्री बुझेर लगेको जाजरकोट वितरण केन्द्रका प्रमुख अविशेक राजले जानकारी दिए ।

 

ठेकेदारले केही सामग्री तीन वर्षअघि बुझेर लिए पनि जथाभावी फ्याँक्दा पहिरो तथा खोलाले बगाइसकेको छ । लाइन विस्तारका लागि सबै सामग्री आइसकेकाले अब वहानाबाजी बनाएर काम रोक्ने अधिकार कसैलाई नभएको प्रमुख अविशेकले बताए । त्यस्तै, जिल्लाका बडावन, समाइला, चौखामा निर्माण गर्ने भनिएका सवस्टेशनको कामसमेत धिमागतिमा भएकाले विद्युतीकरणमा समस्या देखिएको हो ।