डोटी । बोगटान फुड्सिल गाउँपालिका–१ अन्तर्गतको छिडीखानक्षेत्रका व्यापारीलाई फोहरमैला व्यवस्थापनका लागि डोको वितरण गरिएको छ ।
‘युएम एन डोटी’ र ग्रामीण सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजनाअन्तर्गत बोगटान फुड्सिल–१ सितको समन्वयमा २० व्यापारिलाई डोको वितरण गरिएको हो । स्थानीयस्तरमा उपलब्ध हुने बाँस तथा निगालोबाट बनाइएका डोकालाई डस्टबिनका रुपमा प्रयोग गर्दा बजार क्षेत्रमा सरसफाइमा सहयोग पुग्नाका साथै प्लास्टिक मुक्त क्षेत्रमा मद्दत पुग्ने बोगटान फुड्सिल–१ वडाध्यक्ष खेमबहादुर घर्तिमगरले बताए ।
उनका अनुसार डस्टबिनका रुपमा डोकोको प्रयोग गर्दा स्थानीयस्तरमा निर्माण गरिएका कच्चापर्दाथको बजारीकरणमा सहयोग पुग्नाका साथै नागरिकले सहज रुपमा प्रयोगमा ल्याउन सक्ने छन् । स्थानीयस्तरमै बाँस–निगालाबाट निर्माण गरिएका डोका डस्टबिनका रुपमा डोटीमा पहिलो पटक प्रयोगमा ल्याइएका हुन् ।