close

डम्पिङ साइटमा सल्किएको आगोकाे धुँवाले बस्ती ढाकियो

डम्पिङ साइटमा सल्किएको आगोकाे धुँवाले बस्ती ढाकियो

Trulli
ADVERTISEMENT

धादिङ। नीलकण्ठ नगरपालिका–८ को च्याढुघुम्तीस्थित डम्पिङ साइटमा सल्किएको आगोबाट निस्किएको धुवाँले आसपासका झन्डै एक दर्जन बस्ती प्रदूषित बनेका छन् । 

सदरमुकाम धादिङबेँसीबाट निस्किएको फोहोर फाल्ने डम्पिङ साइटमा आगो सल्किएपछि निस्किएको धुवाँको मुस्लोले एक सातादेखि मानव बस्ती नै धुवाँले ढाकिएको छ । एक साताअघि वन क्षेत्रमा लागेको डढेलो डम्पिङ साइटको अव्यवस्थित ढङ्गले फालिएको फोहोरको थुप्रोमा सल्किएको हो । विशेषगरी नीलकण्ठ–८ को ससाह, ज्यामिरेमा प्रदूषण फैलिएको छ । 

नीलकण्ठ–७ सुनौलाबजारको मस्र्याङछाप, डमडाँडा, सिद्धलेकको नलाङस्थित कालीदह, नयाँबस्तीमा पनि धुवाँको मुस्लोसहित प्रदूषण फैलिएको छ । दुर्गन्धसहित मानव बस्तीमा फैलिएको पिरो धुवाँले स्थानीय बिरामी पर्न थालेका छन् । आँखा पोल्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या देखिएको ससाह ज्यामिरेका स्थानीय अर्जुन श्रेष्ठले बताए। 

डम्पिङ साइटसँगै जोडिएको धादिङबेँसी मलेखु सडकमा सहजै हिँड्न सक्ने अवस्था छैन । प्रदूषणले गर्दा चालक र यात्रुलाई नाकमुख बन्द गरेर डम्पिङ साइट क्षेत्र पार गर्नुपर्ने बाध्यता छ । 

तीन दिनअघि नगरपालिकाले दमकलको प्रयोग गरेर आगो निभाएको भने पनि फोहोरको डङ्गुरको भित्रसम्म पुगेको आगो अहिले झन् बढेकोे छ । नगरपालिकाले डम्पिङ साइट व्यवस्थित गर्न नसक्दा दिनानुदिन समस्या बढ्दै गएको प्रभावित क्षेत्रका स्थानीयले बताएका छन् । 

खुला रूपमा फालिएको फोहोरले वातावरणलाई प्रदूषित बनाएको छ । आगो सल्किएपछि निस्किएको दुर्गन्धित धुवाँले बस्तीमा बसी नसक्नु भएको स्थानीय भरत ढुङ्गानाले बताए। ‘फोहोरको दुर्गन्धले हैरान छौँ, दुर्गन्ध र धुवाँको मुस्लोले बस्तीलाई ढाकिदिँदा सास फेर्नसमेत अप्ठ्यारो हुने गरेको छ’, उनले भने।

प्रदूषणले सास्ती भएको जानकारी गराउँदै नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराएको उनले बताए। नगरपालिकामा समस्या राख्दा छिट्टै व्यवस्थापन हुने आश्वासन पाउने गरेको स्थानीयको भनाइ छ । ‘आश्वासन पाइन्छ’, ढुङ्गानाले भने, ‘तर काम कहिल्यै भएन ।

बस्ती र जङ्गलमाथिको आकाश धुवाँले ढाकिएको छ । धुवाँ र दुर्गन्ध बढेपछि स्थानीय गाईबाख्रा चराउनसमेत जङ्गल जान सकेका छैनन् । आगो सल्किनुअघि नजिकै पुग्दा मात्रै दुर्गन्ध थाहा पाउने गरेको भए पनि अहिले बस्तीसम्मै दुर्गन्ध आएपछि स्थानीय पीडित बनेका छन् । जनघनत्व बढिरहेको यहाँको बजार क्षेत्रबाट दैनिक निस्कने फोहोरलाई च्याडुघुम्तीबाट थोपल खोला किनारमा फाल्दै आइएको छ । करिब दुई दशकदेखि यहाँ फोहोर फाल्दै आए पनि नगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन ।