close

प्लास्टिकमुक्त नगरपालिका कार्यान्वयनमा चुनौती

प्लास्टिकमुक्त नगरपालिका कार्यान्वयनमा चुनौती

Trulli
ADVERTISEMENT

कञ्चनपुर– प्लाष्टिक झोला निषेध गर्ने सुदुरपश्चिमकै पहिलो पालिका बनेको बेलौरी नगरपालिकामा प्लाष्टिकको झोला प्रयोग पूर्ण रुपमा नियन्त्रण हुन सकेको छैन । नगरपालिकाले गत वर्षको साउनदेखि प्लाष्टिक झोलाको प्रयोगमा निषेध गरेको थियो । प्लाष्टिकको झोलाले पालिकाको फोहोर व्यवस्थापनमा समस्या ल्याएको भन्दै नगरपालिकाले नियन्त्रण गरेर प्लाष्टिकमुक्त पालिका घोषणा गरेको थियो । 

बेलौरी भारतीय नाका नजिकैको पालिका रहेकाले प्लाष्टिकजन्य झोलाको नियन्त्रण गर्न चुनौति बनेको नगरपालिकाका उपप्रमुख जोगराम चौधरी बताउँछन् । पालिकाको नियम कतिपय नागरिकले पालना गरिरहँदा कतिपयले अटेर गरेको उनले बताए । उनले भने, ‘भारतबाट लुकिछिपी ल्याएर प्रयोग हुने गरेको छ । हामी अनुगमनमा जाँदा प्लाष्टिकको झोला प्रयोग गरेको थाहा पाएमा नगर्न आग्रह गछौं ।’ 

पालिकाले प्लाष्टिकको झोला प्रयोगमा निषेध गरेको विषयमा सबै स्थानीयलाई जानकारी नभएर समेत यसको प्रयोग नरोकिएको उनले बताए । ‘कानुनी प्रकृया र नगरपालिकाको सूचना सबैले हेर्न नसक्नु हुँदैन । त्यही भएका प्लाष्टिक झोलाको प्रयोग भएको भेटिएमा पहिलोपटक सजक गराउने र  राम्रोसँग सम्झाउने गछौं । तर, सम्झाइबुझाइ गर्दा पनि मानेनन् भने नगरपालिकाको कानुनअनुसार कारबाही गरिन्छ,’ उनले पालिका खबरसँग भने । 

व्यापारीले बिक्री गरेर नै सर्वसाधरणले प्लाष्टिकको प्रयोग गर्ने भएकाले प्लाष्टिक झोला प्रयोग र बिक्री गर्ने व्यापारीलाई कारबाही गर्ने गरेको उनले बताए । दाल, चिनीजस्ता दैनिक उपभोग्य सामाग्री कागजको झोलामा खरिद बिक्री गर्न गाह्रो हुने जनगुनासो आउने गरेको उनले सुनाए । उनले भने, ‘घरबाट कपडाको झोला ल्याएर सामान किनेर लैजानुस् । घरमा बट्टामा सामान राख्नुस् भनेर सम्झाउने गरेका छौँ ।’ प्लाष्टिकको झोला बेच्नुको सट्टामा ग्राहकलाई घरबाट कपडाको झोला ल्याउन अनुरोध गर्न व्यापारीलाई सुझाव दिने गरेको उनले बताए । 

नगरपालिकाले स्थानीय गरिब तथा विपन्न महिलालाई सिलाइ कटाइको तालिम दिएकाले कपडाको झोला बनाउन समस्या नहुने उनले सुनाए । ‘सिलाइ कटाइ तालिम लिएर टेलर खोलेर बस्नुभएको छ । उहाँहरु झोला सिउनुहुन्छ,’ पालिकाबाट फाइबरका झोलाहरू खरिद गरेर स्थानीयले प्रयोग गरिरहेको उनले बताए । 

पछिल्लो समयमा नगरपालिकाले अनुगमन तीव्र बनाएको छ । प्रत्येक दुईदेखि तीन अन्तरालमा बजार अनुगमन गर्नुका साथै प्लाष्टिकको झोलाको प्रयोग भएको छ कि छैन अनुगमन गरिएको उनले बताए । ‘प्लाष्टिकको झोलाको प्रयोग नै भएको छ की छैन भनेर तीनपटक अनुगमन गर्यौँ,’ उनले भने । 

पर्यावरणसँग जोडिएको विषय भएकाले ठाउँठाउँमा प्लाष्टिकको फोहोर फाल्दा वातावरण प्रदूषित हुने र फोहोर व्यवस्थापनमा समेत समस्या हुने भएकाले प्लाष्टिक झोलाको निषेध गरेको उनको भनाइ छ । 

फोहोर व्यवस्थापनका लागि नगरपालिकाले ठाउँठाउँमा फोहोर फाल्ने ड्रम राखेको छ । सामान्यतः कुहिने फोहोरहरू बंगुर पालन गरेको ठाउँमा र प्राङ्गारिक मल बनाउन प्रयोग हुने गरेको उपप्रमुख चौधरीले बताए । 

उनका अनुसार बाँकी फोहोर स्थानीयले पालिकाले ठाउँठाउँमा राखेको ड्रममा जम्मा गरिदिन्छन् । सो फोहोरलाई नगरपालिकाको गाडी र कर्मचारीले हरेक दिन संकलन गरेर  फोहोरलाई डम्पिङ गरेर व्यवस्थापन गर्दै आएको उनले बताए । दैनिक रुपमा करिब २ क्विन्टल फोहोर नगरपालिकाभित्र उत्पादन हुने उनले जानकारी दिए । 

एक ठाउँमा फोहोर संकलन गरेर त्यसको रिसाइकलिङ गर्ने तथा फोहोरबाट अन्य सामाग्री बनाएर फोहोरको व्यवस्थापन गर्ने योजना नगरपालिकाको छ । बेलौरी नगरपालिकासँग सो कामको लागि आवश्यक जमिन नभएकाले जमिनको खोजी भइरहेको उनले बताए ।