close

प्राकृतिक तालको खाेजी गर्दै धनगढी

प्राकृतिक तालको खाेजी गर्दै धनगढी

Trulli
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगरले नगर क्षेत्रमा रहेका प्राकृतिक तालको पहिचान गरी संरक्षण सुरु गरेको छ । 

नगर क्षेत्रभित्रका सबै वडा र सामुदायिक वनभित्र पर्ने अतिक्रमणमा परेका प्राकृतिक तालको लगत तयार गरी अतिक्रमण हटाएर दीर्घकालीनरूपमा संरक्षण गर्ने योजना सुरु गरेको हो । उपमहानगरपालिकाले १९ वटै वडामा रहेका सार्वजनिक तालतलैयाको खोजी गरी अतिक्रमण हटाएर ताल तलैयालाई पुनः कायम राखी पुनःभरण सुरुआत गरिएको नगरप्रमुख गोपाल हमालले बताए । 

धनगढी उपमहानगरपालिकामा रहेका ८३ वटा सार्वजनिक तालतलैयामध्ये सात वटा तालको अतिक्रमण हटाइएको छ । नगर क्षेत्रभित्र अतिक्रमण गरिएका ताल खाली गरी संरक्षणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइने धनगढी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टको भनाइ छ । 

उहाँले नगर क्षेत्रभित्र रहेका अधिकांश ताल नक्सामा मात्रै देखिने गरेकाले ती तालको संरक्षण गर्ने काम उपमहानरपालिकाले सुरु गरिसकेको बताए । धनगढीमा भूमिगत जलस्रोतको तह घट्दै गएको पाइएकाले पानीको पुनःभरण गर्न, वर्षामा हुने डुबान नियन्त्रण गर्न तथा प्राकृतिक अवस्था र पर्यटनको विकास गर्न ताल संरक्षण गर्न उपमहानगरले नीतिगत व्यवस्था गरेको जनाएको छ । 

पानीको पुनर्भरण, प्राकृतिक सौन्दर्य, माछापालन र पर्यटनका गतिविधि गर्न नगर क्षेत्रका सम्पूर्ण तालको अतिक्रमण हटाएर संरक्षण गरिने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले संरक्षण गरिएका केही नमूना तालमा आय आर्जनका लागि माछापालन, पुनःभरणका लागि पोखरी, वनभोज खाने स्थान र वनभोज आउने व्यक्तिका लागि शौचालय निर्माण गर्ने कामको सुरुआत गरिएको जनाएको छ । 
 
उपमहानगरपालिकाले तालको विकासका लागि बहुउद्देश्यीय रणनीति तयार गर्न अध्ययन वडा नं १ देखि १० भित्रभित्र पर्ने प्राकृतिक तालको भौगोलिक, भौगर्भिक, सामाजिक, आर्थिक अध्ययनको काम गरिरहेको छ ।